गण्डकी हिरोज, केपी ओली टी–२० क्रिकेटको च्याम्पियन

सीइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोजले उपाधि उचाल्यो

जनसम्मत
वैशाख ५, २०८२, शुक्रबार

गण्डकी हिरोज, दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।

भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सीइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको हो।

च्याम्पियन गण्डकीले १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो।

गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जीत दिलाए।

बसन्तले १७ बलमा ३ छक्का प्रहार गरे।

त्यस्तै, नारायणले १० बलमा १ छक्का प्रहार गरे।

किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए।

उनले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

सुजन थपलिया ३५ रनमा अउट भए।

सुजनले २१ बलमा ६ छक्का प्रहार गरे।

दिपक डुुम्रे २६ रनमा अउट भए।

दिपकले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे।

ओपनर साकिव हुकले २४ रन बनाए।

साकिवले १५ बलमा ५ चौका प्रहार गरे।

अर्जुन कुुमाल शून्यमै पेभिलियन फर्किए।

काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिए।

त्यस्तै, मनोज यादव र सूर्य तामाङले १/१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुुग्यो।

अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुुगे।

उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, पृथु बास्कोटाले अर्धशतकीय पारी खेल्दै आउट भए।

पृथुले २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाए।

सिवम तिवारीले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।