ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुग्यो

धनगढीलाई ललितपुरले २–१ ले हरायो, धनगढीले अझै फाइनल पुग्ने एउटा क्वालिफायर खेल खेल्नेछ

जनसम्मत
वैशाख ६, २०८२, शनिबार

ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको फाइनलमा स्थान बनाएको छ।

काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो।

योसँगै ललितपुर लगातार दोस्रो पटक एनएसएलको फाइनलमा प्रवेश गरेको हो।

अघिल्लो सिजन फाइनलमा धनगढीलाई नै हराउँदै ललितपुर च्याम्पियन बनेको थियो।

ललितपुरलाई जीत दिलाउन केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेले गोल गरे।

धनगढीका जर्ज प्रिन्स कार्कीले गोल गरे।

खेलको सुरुआतमै ललितपुर १० खेलाडीमा समेटिएको थियो।

तर, त्यसको फाइदा धनगढीले उठाउन सकेन।

१६ औं मिनेटमा ललितपुरका खेलाडी मणिकुमार लामाले रातो कार्ड पाउँदै मैदान बाहिरिए।

मणिलाई धगनढीका खेलाडीले फाउल गरेपछि लडेकै अवस्थामा मणिले उनलाई किक हानेका थिए।

त्यसपछि, रेफ्रीले मणिलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए।

अब, मणिले फाइनल गुमाउने छन्।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

तर, ५७ औं मिनेटमा ललितपुरले खेलमा अग्रता लियो।

बेलफोर्टले फ्री–किकमा सिधै गोल गरेका थिए।

त्यसको ४ मिनेटपछि नै धनगढीले खेलालाई बराबरीमा ल्यायो।

धनगढीका लागि जर्जप्रिन्सले गोल गरेका थिए।

उनी मैदान प्रवेश गरेको केही सेकेन्डमै गोल गरेका हुन्।

त्यसपछि, धनगढीले लगातार आक्रमण बुनेको थियो।

तर, गोल भने गर्न सकेन।

७९ औं मिनेटमा ललितपुरले पुन: खेलमा अग्रता लियो।

ललितपुरका पापा इबोउले टोलीका लागि दोस्रो गोल गरे।

त्यही अग्रतालाई अन्तिमसम्म कायम राख्दै ललितपुर सिटी एफसी लगातार दोस्रो पटक फाननलमा पुग्यो।

हारका बाबजुद धनगढीले फाइनल पुग्ने अर्को अवसर पनि पाउनेछ।

अब धनगढीले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र एफसी चितवनबीचको एलिमिनेटर विजेतासँग खेल्नेछ।

पोखरा थन्डर्स र चितवन एफसीबीचको एलिमिनेटर खेल भोलि (आइतबार) बेलुका हुनेछ।