जितविहीन बन्दै अफगान बाहिरियो

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट

एजेन्सी
असार २१, २०७६, शनिबार

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा जितविहीन बन्दै अफगानिस्तान प्रतियोगिताबाटै बाहिरिएको छ ।

यसअघि नै बाहिरिएको अफगानिस्तान बिहिबार राति भएको अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित बन्यो । वेस्ट इन्डिजको भने यो दोस्रो जित हो । वेस्ट इन्डिज पनि यसअघिनै विश्वकपबाट बाहिरि सकेको छ ।

वेस्ट इन्डिजले दिएको ३ सय १२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २ सय ८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इक्रम अली खिल र रमात साहले अर्धशतकीय रन बनाए । खिलले आक्रामक ब्याटिङ गर्दै ८६ रन बनाए । रमातले ६२ रन बनाए । अस्घर अफघानले ४०, नाजिबुल्लाह जाडरनले ३१ र सैयद सिर्जादले २५ रन बनाए ।

वेस्ट इन्डिजका कार्लोस बेथवेटले ४ विकेट लिए । केमार रोचले ३ तथा क्रिस गेल र ओसाने थोमसले समान १ विकेट लिएका थिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि इभिन लेविस, साई होप र निकोलस पुरनले अर्धशतकीय रन बनाए । साई होपले ७७ रन बनाए । लेविस र पुरनले समान ५८ रन बनाए ।

कप्तान जासन होल्डरले ४५, सिमरन हेटमायरले ३९, कार्लोस बेथवेटले १४ रन बनाए । प्रारम्भिक ब्याट्सम्यान क्रिस गेलले ७ रन बनाए । अफगानिस्तानका दौलत जाडरनले २ विकेट लिए । सैयद सिर्जाद, मोहम्मद नाबी र रासिद खानले समान एक विकेट लिए ।