वर्षाका कारण नेपालको यु–१९ विश्वकप खेल्ने सपना समाप्त

नेटरन रेटको आधारमा नेपाललाई पछि पार्दै अफगानिस्तान यु–१९ विश्वकपमा छनौट भएको छ

जनसम्मत
वैशाख ६, २०८२, शनिबार

आइसीसी यु–१९ विश्वकप एशिया छनौटको चौथो तथा अन्तिम खेल रद्द हुँदा नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ।

काठमाण्डौंको जोरपाटीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा आज (शनिबार) विहान हुने तय भएको घरेलु टोली नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल रद्द भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो।

यससँगै, अफगानिस्तानले विश्वकपमा स्थान बनाएको छ।

वर्षाका कारण खेल रद्द भएसँगै नेटरन रेटको आधारमा अफगानिस्तान यु–१९ विश्वकपमा छनौट भएको छ।

अघिल्ला ३ खेलबाट नेपाल र अफगानिस्तानको समान ७ अंक भएपनि अफगानिस्तान नेटरन रेटको आधारमा नेपाललाई पछि पार्दै यु–१९ विश्वकपमा छनौट भएको हो।

नेपाल र अफगानिस्तानबीचको खेल आज बिहान ९:३० मा शुरु हुने तय थियो।

तर, वर्षाका कारण मैदान भिजेकोले दिउँसो २ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द हुन पुगेको छ।

अर्को वर्ष जिम्बावे र नामिबियामा हुने यु–१९ को विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नैपर्ने थियो।

अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो।

तर, हिँजो (शुक्रबार) बेलुकादेखि बिहानसम्म भएको वर्षाले मूलपानी मैदान भिजेर खेल संचालन हुन ढिलाइ भएको थियो।

३० यार्ड सर्कलभित्रको मैदान सबै सुकेपनि बाउन्ड्री लाइन छेउछाउको मैदान नसुकेका कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि संभव नभएको बताउँदै खेल रद्द गरेका हुन्।

नेपाल र अफगानिस्तानले पहिलो समान ३ खेल जितेर निर्णायक अवस्थामा पुगेका हुन्।

नेट रन रेटमा अफगानिस्तान अगाडि थियो।

नेपाल, ओमान, युएई अफगानिस्तान र हङकङ सहभागी यो प्रतियोगिता विजेता टोली यु–१९ को विश्वकपमा पुग्ने व्यवस्था थियो।

नेपालले गएको वर्ष दक्षिण अफ्रिकामा भएको आइसीसी यु–१९ को विश्वकपमा अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो।

त्यसपछि, नोभेम्बरमा युएईमा भएको एशिया कपमा पनि नेपालले अफगानिस्तानलाई जितेको थियो।

यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तानका यु–१९ को टोलीले ३ खेलको श्रृंखला खेलेकोमा अफगानिस्तान २–१ ले विजयी बनेको थियो।

यसअघि, नेपालले ८ पटक आइसीसी यु–१९ को विश्वकप खेलिसकेको छ।

जारी यस प्रतियोगितामा नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डीएसएल) का आधारमा ५ रनले हराएको थियो।

त्यसैगरी, नेपालले ओमानलाई ८ विकेटले हराएको थियो।

यस्तै, हङकङमाथि नेपालले ९ विकेटको जीत निकालेको थियो।