पोखरा थन्डर्स एफसी नेपाल सुपर लिगको दोस्रो क्वालिफायरमा पुग्यो

चितवनलाई पोखराले ३–० ले स्तब्ध बनायो, दोस्रो क्वालिफायरमा पोखरा धनगढीसँग भिड्ने

जनसम्मत
वैशाख ७, २०८२, आइतबार

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल को दोस्रो क्वालिफायनरमा स्थान बनाएको छ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा आज (शनिबार) साँझ भएको खेलमा पोखराले एफसी चितवनलाई ३–० ले स्तब्ध बनायो।

यो जीतसँगै पोखरा थन्डर्स एफसीले दोस्रो क्वालिफायरमा स्थान बनायो।

आजको जितसँगै पोखराले लिग चरणको पहिलो खेलमा चितवनसँग व्यहोरेको हारको बदला समेत लिन सफल बनेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोश्रो हाफमा पोखराले २ गोल गर्दा १ गोल आत्मघाती उपहार पाएको हो।

पोखरालाई जित दिलाउन जोय आइडुले २ गोल गर्दा १ गोल चितवनका अभिषेक लिम्बुमार्फत आत्मघाती उपहार मिल्यो।

६३ औं मिनेटमा चितवनका अभिषेकबाट आत्मघाती गोल भएपछि पोखराले खेलमा सुरुवाती अग्रता लिएको थियो।

आयडुले ७१ औं मिनेटमा गोल गर्दै पोखराको अग्रता दोब्बर बनाए।

त्यसपछि ७६ औं मिनेटमा आयडुले व्यक्तिगत दोश्रो गोल गर्दै पोखरालाई ३–० गोलको जीत दिलाए।

जारी एनएसएलको दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स एफसीले अब धनगढी एफसीसँग पर्सि (मंगलबार) फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसीले फाइनलमा स्थान बनाइसकेको छ।

यो संस्करणको एनएसएलमा अपराजित रहँदै ललितपुर सिटी एफसी फाइनलमा पुगेको हो।

पोखरा थन्डर्स एफसीले २ जीत, २ बराबरी र २ हारको नतिजा ब्यहोर्‍यो।

पोखराले ८ अंक जोड्दै गोल अन्तरमा काठमाण्डौ रेजर्सलाई हराएर प्ले–अफमा पुगेको हो।

तेस्रो संस्करणको एनएसएल प्रतियोगितामा एफसी चितवनले ३ जीत १ बराबरी र २ हार ब्यहोर्‍यो।

एफसी चितवन १० अंकसहित तेस्रो स्थानमा रहँदै प्ले–अफमा पुगेको थियो।

प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुनेछ।