गण्डकी प्रदेशसभाको विषयगत समितिमा १० विधेयक पठाइयो

प्रदेशसभाको यसै हिउँदे अधिवेशनले ६ विधेयक र प्रदेशसभा नियमावलीसमेत पारित गरेको छ

जनसम्मत
चैत्र २८, २०८१, बिहीवार

गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका १० वटा विधेयक दफाबार छलफलका लागि विषयगत समितिमा पुगेका छन्।

विधेयक अधिवेशनका रुपमा लिइने हिउँदे अधिवेशनमा सामान्य सैद्धान्तिक छलफल गरी दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन्।

अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र मगर तथा गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस गरिएको हो।

यसैगरी, दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिको अधिकार, खानी तथा खनिज, भवन निर्माण तथा बस्ती विकास, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवासम्बन्धी र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकमाथि प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफलपछि दफाबार छलफलका लागि विषयगत समितिमा पुगेको हो।

मंगलबार रातिदेखि अन्त्य भएको हिउँदे अधिवेशनले ६ विधेयक र प्रदेशसभा नियमावली पारित गरेको जनाइएको छ।

गत माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट साझेदारी फर्मको नियमन र व्यवस्थापन, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार, प्रदेश निजामती ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थापन, कर असुलसम्बन्धी र केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।