बागलुङको काठेखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

गाउँपालिकाको पुँजीगत खर्च ४९ प्रतिशत, चालु खर्च ६४ प्रतिशत र कुल वित्तिय प्रगति ५९ प्रतिशत छ

जनसम्मत
वैशाख ११, २०८२, बिहीवार

बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

गाउँपालिकाले बुधबार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा गरेका सेवा प्रवाह, विकास निर्माण र सम्पादित कामका बारेमा वडा नम्बर २ भीमापोखरामा सार्वजनिक सुनुवाई गरेको हो।

सार्वजनिक सुनुवाईमा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए।

सडक, खानेपानी, कृषि, पर्यटन, पशुपालन लगायतका क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको उनको भनाई छ।

उनले जनताको सुझाव ग्रहण गरेर नै काम गर्ने बताए।

कर्मचारीहरुले पनि जनतालाई सहजरुपमा सेवा दिनुपर्नेमा उनले जोड दिए।

गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले गाउँपालिकाको योजनालाई प्रभावकारी बनाउनका लागि अनुगमन र मूल्यांकनलाई तीव्रता दिएको बताए।

सीमित स्रोत साधनबीच जनताको असीमित आवश्यकतालाई पूरा गर्न एकै पटक नसकिने बताउँदै उपाध्यक्ष थापाले विस्तारै क्रमैसँग काम गर्दै जाने प्रतिबद्धता जनाए।

चालु आर्थिक वर्षको हालसम्म काठेखोला गाउँपालिकामा १९२ वटा योजना सम्झौता भएकोमा ९९ वटा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिएका छन्।

प्रशासकीय अधिकृत कार्कीका अनुसार पुँजीगत खर्च ४९ प्रतिशत, चालु खर्च ६४ प्रतिशत र कुल वित्तिय प्रगति ५९ प्रतिशत भएको छ।

कार्यक्रममा स्थानीयहरुले पालिकाको भवन अहिलेसम्म बन्न नसकेको प्रति गुनासो गरे।

उनीहरुले एक पटक सम्पन्न भएको योजनालाई गाउँपालिकाले पुन: मर्मत गर्नतर्फ ध्यान नदिँदा करोडौँका योजना काम नलाग्ने भएको स्थानीयको गुनसो थियो।

पछिल्लो समय काठेखोलाबाट बसाइँसराइँ बढ्दै गएको स्थानीयको प्रतिक्रिया थियो।

गाउँपालिकाले यसलाई रोक्नका लागि ध्यान दिनुपर्ने स्थानीयहरुको जोड थियो।

कृषिमा गाउँपालिकाले अनुदान दिएपनि त्यसको सदुपयोग हुन नसकेको कार्यक्रममा सहभागीहरुको भनाई छ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायतका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको उनीहरुले बताए।

सार्वजनिक सुनवाई कार्यक्रमको पत्रकार विजय रानाले टिप्पणी गरेका थिए।

पत्रकार संगम घर्तीमगरले काठेखोला गाउँपालिकाका नागरिकहरुको सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले सार्वजनिक सुनुवाईको आचारसंहिताको विषयमा जानकारी गराएका थिए।

सार्वजनिक सुनुवाई कार्यक्रम काठेखोला गाउँपालिकाका सुशासन समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष वृहस्पती कँडेलको अध्यक्षता र पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढामगरको सहजीकरणमा सम्पन्न भएको थियो।