पशुपतिमा ‘आमा’को शुभ–मुहूर्त

आउँदो फागुन ९ गते प्रदर्शनमा आउने तयारीमा फिल्म बन्न लागेको हो

जनसम्मत
असार २१, २०७६, शनिबार

पोखरा । नेपाली नयाँ फिल्म ‘आमा’ को शुभ–मुहूर्त गरिएको छ ।

दीपन्द्र के खनालको निर्देशन रहने फिल्मको काठमाण्डौंस्थित पशुपतिनाथ मन्दिरमा फिल्मको शुभ–मुहूर्त गरिएको हो ।

मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्माता लगायत कलाकारको उपस्थिति थियो । आमा र छोरीको भावनात्मक सम्बन्धको कथामा आधारित ‘आमा’ बन्न लागेको हो । शर्मिला पाण्डेको निर्माण रहने फिल्म आफ्ना बजारमा आएको भन्दा उत्कृष्ट हुने निर्देशक दीपेन्द्रको दाबी छ ।

काठमाडौं र रामेछापको बिभिन्न स्थानमा छायांकन हुने फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । आउँदो फागुन ९ गते प्रदर्शनमा आउने तयारीमा फिल्म बन्न लागेको हो ।

फिल्मको शीर्ष भूमिका अर्थात ‘आमा’को भूमिकामा कलाकार सूर्यमाला खनाल रहेकी छन् । उनको छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको समेत फिल्ममा अभिनय रहनेछ ।

‘आमा’ नाममा बन्न लागेको यो तेस्रो फिल्म हो । हीरासिंह खत्रीले वि.सं. २०२० र २०५१ सालमा रेसराज आचार्यले ‘आमा’ नाममा फिल्म बनाइ सकेका छन् । निर्देशक खनालले अघिल्लो समयमा बनेका ‘आमा’ भन्दा यस पटकको ‘आमा’ मा फरक कथा र उत्कृष्ट फिल्म बन्ने दाबी गरेका छन् ।