पोखरामा प्रतिरक्षा तथा बाल बाथरोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर हुँदै

शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त शिविर संचालन हुँदैछ

जनसम्मत
वैशाख १२, २०८२, शुक्रबार

पोखरामा भोलि (शनिबार) प्रतिरक्षा तथा बाल बाथरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम हुँदैछ।

पोखरा महानगरपालिका–९ को समन्वयमा, म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोगमा पोखरा क्लिक प्रा.लि.को आयोजनामा शनिबार पोखरामा उक्त कार्यक्रम हुने भएको हो।

पोखरामा (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो।

पोखरा–९, नयाँबजारस्थित (बृहस्पति पेट्रोल पम्प ठीक अगाडि) संचालनमा आउँदै गरेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्रांगणमा संचालन हुने उक्त शिविरको तयारी पूरा भएको प्रा.लि.ले जनाएको छ।

नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (एमबीबीएस, एमडी, डीएम, एफइएसआइडी) डा. धर्मागत भट्टराईलाई गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ल्याएर शिविर संचालन गर्ने प्रबन्ध मिलाएको प्रालि.का अध्यक्ष दीननाथ बरालले बताए।

पोखरासहित गण्डकी प्रदेशमा पनि बालबालिकामा देखिने समस्याको पहिचानमा असहजता डरलाग्दो रहेको बरालले उल्लेख गरे।

उनले बाल बाथरोगसम्बन्धी समस्यालाई मध्यनजर गर्दै प्रतिरक्षा तथा बाल यस रोगको पहिचानमा देखिएका समस्या, रोग पहिचानपछि निदानमा आइपर्ने बाधा व्यवधानका बारेमा यस क्षेत्रका जनसमुदायलाई सुसूचित गर्न सकियोस् भन्ने उद्देश्यले शिविर आयोजना गरिएको उल्लेख गरे।

डा. भट्टराईको प्रत्यक्ष परामर्शमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त शिविर संचालन हुने भएको असफल गौतमले बताए।

शिविरमा आउने सेवाग्राहीलाई हस्पिटलको प्रयोगशालामा मधुमेह र पिसाब नि:शुल्क परीक्षणको सुविधासमेत अस्पतालले उपलब्ध गराउने गौतमले जनाए।

पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले बाल बाथ र इम्यूनोलोजीको समस्या अन्य उमेर समुहमा भन्दा गंभीर रुपमा रहने भएकाले समयमै उपचार गर्न सुझाव दिए।

डा. भट्टराइले समयमै उक्त बिरामीहरुको उपचार नभए शारीरिक रुपमा अंग भंग हुनसक्ने बताए।

नेपालमा बाल बाथ र इम्यूनोलोजीका हाल २३ सय बिरामी आफ्नो निगरानीमा रहेको डा भट्टराईले उल्लेख गरे।

अस्पतालमा स्वास्थ्य परीक्षण गराउने सेवाग्राहीलाई अस्पतालबाट ५ देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको पश्चिमाञ्चल डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरका प्रशासकीय अधिकृत देवेन्द्र धितालले बताए।

अस्पतालका अध्यक्ष शिव पोखरेलले पोखरामा विशिष्टिकृत अस्पतालको सेवा सुरु गर्न उक्त अस्पताल संचालनमा ल्याउन लागेको उल्लेख गरे।

नेपालकै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञसँग नि:शुल्क सेवा लिन पाउने शिविरमा गण्डकी प्रदेश क्षेत्रका धेरै जना लाभान्वित हुने पोखरेलले विश्वास व्यक्त गरे।

१६ वर्ष भन्दा कम उमेरका धेरै भन्दा धेरै बालबालिकाको सहभागिताका लागि अध्यक्ष पोखरेलले आग्रह गरे।

समुदाय र सिंगो राज्यलाई सुसूचित गराउनुका अलावा संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवामूलक गतिविधिसमेत संचालन गर्दै आएको प्रालिसँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको हस्पिटलका अध्यक्ष पोखरलले जनाए।