
सभामुख देवराज घिमिरेले नेपाली समाजले फोटो पत्रकारिताको महत्व बुझेको बताएका छन्।
राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले शनिवार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
सभामुख घिमिरेले भने, ‘मिडियाको महत्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्व बुझ्ने ठाउँमा आइपुगेको छ।’
उनले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने औंल्याएका छन्।
‘फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमश: चिन्ने कामहरु गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधानहरु हटाएर अघि बढाउन जरुरी छ’, उनले उल्लेख गरे।
उनले फोटो पत्रकारिता जिउँदो इतिहास भएको स्पष्ट पारे।
सभामुख घिमिरेको टिप्पणी थियो, ‘समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसक्ने कुरा नै फोटो पत्रकारिता हो। एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ। तर, फोटो पत्रकारिताले त्यस्ता खालका कुराहरुको काउण्टरमा सधैँभर ठिङ्ग उभिएर आफ्नो परिचय दिनसक्ने र त्यो बेला के भएको थियो ? भन्ने कुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्नसकिन्छ। जिम्मेवारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिन्छ। समाजको चित्रणलाई यथार्थमा उतार्नसक्ने र यथार्थबाट भविष्यलाई देखाउनसकिन्छ। विगतबाट भविष्यमा जाने बाटोहरु के थिए ? भन्ने कुरा देखाउन सक्ने धेरै महत्वपूर्ण कामहरु गर्नसक्छ। पत्रकारहरु क्यामेराको पछिपछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्छ। घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ। फोटो पत्रकारहरुको महत्वलाई राज्यले क्रमश: चिन्ने कामहरु गरेको छ। त्यस हिसावमा विकास गर्ने कुरामा जुन व्यवधानहरु रहेका छन्। ति, अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ।’
सभामुख घिमिरेले पत्रकारिताको महत्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणापछि मात्रै उपयोग गरिएको बताए।