
विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
अर्को विभागीय नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै एपीएफ क्लबले लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि उचाल्यो।
इञ्जुरी समयमा गीता रानाको हेडर गोल नै एपीएफलाई बिजयी बनाउन सफल भयो।
८ टोली सहभागी प्रतियोगिताको विजेता एपीएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार जित्यो।
उपविजेता पुलिसले २ लाख ५० हजार रुपैयाँ पुरस्कारमा चित्त बुझाएको छ।
यो उपाधिसँगै विभागीय एपीएफले लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ।
यसअघि, एपीएफले इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो।
फाइनल खेलको ‘प्लेयर अफ द फाइनल’ एपीएफकी गीता रानामगर घोषित भइन्।
गीताले ५ हजार रुपैयाँ पुरस्कार जितिन्।
यसैगरी, उत्कृष्ट डिफेन्डर एपीएफकी गिता राना, स्ट्राइकर अनिता केसी र प्रशिक्षक भगवती थापा लाई सम्मान गरीएको छ।
यसैगरी एपीएफकी क्याप्टेन अनिता बस्नेत प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ बनिन्।
अनिताले २५ हजार रुपैयाँ पुरस्कार हात पारिन्।
एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो।
यता, पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा ६–५ ले पराजित गर्दै फाइनल खेलेको थियो।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, विभागीय क्लबहरु सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सूदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले प्रतिस्पर्धा गरेको थियो।