ललितपुर सिटी एफसी, दोस्रो पटक नेपाल सुपर लिगको च्याम्पियन

पोखरा थन्डर्स पहिलो पटक उपविजेता

जनसम्मत
वैशाख १३, २०८२, शनिबार

ललितपुर सिटी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ।

काठमाण्डौंको दशरथ रंगशालामा आज (शनिबार) भएको फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीले लगातार एनएसएलको उपाधि उठायो।

यस सिजनको सुपर लिगमा ललितपुरले अपराजित रहँदै उपाधि जित्न सफल बन्यो।

उपाधि विजेता ललितपुरले उपाधिसहित ८० लाख रुपैयाँ पुरस्कार जित्यो।

उपविजेता पोखराले ३० लाख रुपैयाँ पुरस्कारमा चित्त बुझायो।

ललितपुरको जीतमा इमोह इजेकेल र पापा इबाउ केबेले गोल गरे।

ललितपुरले खेलको ४२ औं मिनेटमा अग्रता बनायो।

इजिकेलले मनोज राईको पासमा हेड गर्दै ललितपुरका लागि पहिलो गोल गरे।

एनएसएलमा इजेकेलको यो नवौं गोल हो।

इजेकेल पनि सर्वाधिक गोल गर्ने सूचीको शीर्षमा रहे।

खेलको ६३ औं मिनेटमा पोखराले १–१ को बराबरी गर्‍यो।

पोखराका सुदिल राईले गोल गरे।

स्टेफन समीर विनोङको प्रहार ललितपुरका गोलरक्षक जेफरी विल्लीले रोकेपनि त्यसमै फर्केको बलमा सुदीलले गोल गरेका थिए।

खेलको ७५ औं मिनेटमा ललितपुरले गोल थप्यो।

इजेकेलले निकालेको क्रस बललाई नियन्त्रणमा लिँदै केबेले निर्णायक गोल गरे।

त्यसपछि, पोखरा खेलमा फर्कन सकेन।

अन्तत: ललितपुर २–१ ले विजेता बन्यो।

तेस्रो संस्करणको एनएसएलमा ७ टोलीको प्रतिस्पर्धा थियो।

पोखराले पहिलो पटक फाइनल खेलेको हो।