
पोखरा थन्डर्सका कप्तान आयुष घलान नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
यस सिजनको सुपर लिगमा सर्वोत्कृष्ट खेलाडी बनेसँगै आयुषले २ लाख ५० हजार पुरस्कार जितेका छन्।
आयुषकै कप्तानीमा पोखरा थन्डर्सले यस सिजनको नेपाल सुपर लिग फुटबलको फाइनलसम्म यात्रा तय गरेको थियो।
लिग चरणको सुरुवाती २ खेल हारेपनि कप्तान आयुषको पोखरा थन्डर्सले त्यसपछिको खेलहरुमा क्रमश सुधार गर्दै लगेको थियो।
यस सिजनमा कप्तान आयुषले पोखराका लागि १ गोलसमेत गरे।
आयुष पहिलो संस्करणमा ट्यालेन्ट हन्टमार्फत पोखरामा अनुबन्ध भएका थिए।
पहिलो संस्करणमा प्रभावशाली प्रदर्शन गरेसँगै आयुष दोस्रो संस्करणमा पोखरा थन्डर्सका ‘मार्की खेलाडी’ थिए।
दोस्रो संस्करणमा आयुषको टोली पोखराले प्ले–अफसम्मको यात्रा गरेको थियो।
त्यस्तै, पोखराकै गोलरक्षक प्रिसो सुपर लिगको उत्कृष्ट गोलकीपर बने।
प्रिसोले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते।
त्यसैगरी, धनगढी एफसीका अहमद हिजाजी सर्वाधिक गोलकर्ता बने।
नेपाल सुपर लिग फुटबलको इतिहासमा हिजाजीको नाममा १० गोल रह्यो।
यस सिजनको सुपर लिगमा मात्रै हिजाजीले ५ गोल गरे।
सर्वाधिक गोलकर्ता हिजाजीले पनि १ लाख ५० हजार पुरस्कार हात पारे।
यस्तै, ललितपुरका मणि लामा ‘इनर्जेटिक प्लेयर’ घोषित भए।
‘इनर्जेटिक प्लेयर’ बन्न सफल मणिले १ लाख नगद पुरस्कार जिते।
यसैगरी, ललितपुर सिटीकै सन्तोष खत्री यस सिजनको एनएसएलको ‘इमर्जिङ प्लेयर’ घोषित भए।
‘इमर्जिङ प्लेयर’ बनेका सन्तोषले पनि १ लाख नगद पुरस्कार जिते।
त्यस्तै, झापा एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो।