यो वर्ष, ८ विधामा राष्ट्रिय फोटो पत्रकारिताको पुरस्कार वितरण

७ प्रदेशका ७ उत्कृष्ट फोटो पत्रकारलाई सम्मान, वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान

जनसम्मत
वैशाख १३, २०८२, शनिबार

विभिन्न ८ विधामा राष्ट्रिय फोटो पत्रकारिता अवार्ड वितरण गरिएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपीजे) नेपालद्वारा आयोजित ‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ कार्यक्रममा उत्कृष्ट फोटो पत्रकारहरुलाई सम्मान गरिएको हो।

ललितपुरमा आज (शनिबार) आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे र विशेष अतिथि ऊर्जा, जलस्रोत तथा

सिंचाईमन्त्री दिपक खड्कालगायतले ८ विधामा उत्कृष्ट फोटो पत्रकारहरूलाई अवार्ड प्रदान गरका हुन्।

समूहले विभिन्न अवार्डका विधाहरूमा आवेदन खुला गरी ५ जना नोमीनेसनबाट १/१ जना विजेता छनोट गरी फरक–फरक विधामा अवार्ड वितरण गरेको हो।

समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो।

नयाँ पत्रिकाका दीपेन्द्र ढुंगानाले ‘नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड’ प्राप्त गरे।

यस अवार्डका लागि ढुंगानसहित हरि महर्जन, स्कन्द गौतम, अभिषेक महर्जन र बिजेन अमात्य मनोनयनमा परेका थिए।

गोरखापत्र दैनिककी कविता थापाले ‘पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड’ जितिन्।

यो अवार्डका लागि थापासहित देविका बिस्ट, मेनुका कार्की, रमिता छुँजु र सकुन्तला राना मनोनयनमा परेका थिए।

द हिमालयन टाइम्सका स्कन्द गौतमले ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड’ प्राप्त गरे।

यस अवार्डका लागि गौतमसहित अनिश रेग्मी, चन्द्रबहादुर आले, दीपेन्द्र ढुंगाना र गोपाल दाहाल मनोनयनमा परेका थिए।

उदिप्तसिंह क्षत्रील ‘डिश होम इन्टरनेट खेलकुद फोटो पत्रकारिता अवार्ड’ जितेका छन्।

यो अवार्डका लागि मनोनयनमा क्षत्रीसहित सफल केसी, साजन लामिछाने, सरोज नेपाल र सौरभ केसी छनोट भएका थिए।

नेपाल आर्मीका फोटो पत्रकार राजीब हेन्गाजुले ‘कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड’ जिते।

यो अवार्डको मनोनयनमा हेन्गाजुसहित अजय लेन्सम्यान, दिलिप वैद्य, शंकर भुजेल र टेकबहादुर खड्का छनोडमा परेका थिए।

गोरखापत्र अनलाइनका मनोजरत्न शाहीले ‘एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड’ प्राप्त गरे।

यो अवार्डका लागि शाहीसहित अम्बीर तोलाङ्, अमित मचामासी, हरि महर्जन, र सुशील श्रेष्ठ मनोनयनमा परेका थिए।

अन्नपूर्ण पोस्ट डटकमका अभिषेक महर्जनले ‘राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड’ पाए।

यस अवार्डका लागि महर्जनसहित स्कन्द गौतम, सरोज राई, सागर बस्नेत र प्रेम थापा छनोट भएका थिए।

अनलाइन खबर डटकमका चन्द्रबहादुर आलेले ‘ग्लोबल आइएमइ बैंक आर्थिक फोटो पत्रकारिता अवार्ड’ प्राप्त गरे।

यो अवार्डका लागि आलेसहित दिपेन्द्र ढुंगाना, अम्बीर तोलाङ्, स्कन्द गौतम र अभिषेक महर्जन मनोनयनमा परेका थिए।

 

प्रदेशतर्फका उत्कृष्ट ७ फोटो पत्रकारहरु

 

प्रदेशस्तरमा समेत उत्कृष्ट फोटो पत्रकारहरूलाई सम्मान गरिएको थियो।

रासस संखुवासभाका सुजन बज्राचार्यले ‘गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्ड’ पाए।

यस अवार्डका लागि बज्राचार्यसहित अर्जुन कुलुङ राई, गुरु ढकाल, नेत्र बिमली र शरद जोशी मनोनयनमा छनोट भएका थिए।

मधेश प्रदेशतर्फ यात्रा डेलीका राम सर्राफ सम्मानीत भए।

यो अवार्डका लागि मनोनयनमा सर्राफसहित अर्मेद्रकुमार यादव, चन्द्रदेव साह, दिवाकर भण्डारी र तिवारी यादव छनोट भएका थिए।

बागमती प्रदेशतर्फ राससका नबिन पौडेल सम्मानीत भए।

यस अवार्डमा मनोनयनका लागि पौडेलसहित अमरदीप श्रेष्ठ, गणेश बिष्ट, मिलन घिमिरे र उद्धवकुमार श्रेष्ठ थिए।

गण्डकी प्रदेशबाट परिचय डटकमका प्रेम थापा सम्मानीत भए।

यो अवार्डका लागि थापासहित बिष्णु गौतम, खिम लामिछाने, किरण आचार्य र सागर गिरी मनोनयनमा परेका थिए।

लुम्बिनी प्रदेशतर्फ कान्तिपुर दैनिकका माधवप्रसाद अर्याल सम्मानीत भए।

यस अवार्डको मनोनयनमा अर्यालसहित जानु पाण्डेय, खगप्रसाद चापागाई, मनिष अर्याल र राज अधिकारी छनोटमा परेका थिए।

कर्णाली प्रदेशतर्फ हिमालय टेलिभिजनका अमृतकुमार बुढाथोकी सम्मानीत भए।

यो अवार्डको मनोनयनमा बुढाथोकीसहित अमरराज पुन, बलबहादुर ओली, भारत घर्ति र कविराज कार्की परेका थिए।

सुदूरपश्चिम प्रदेशतर्फ लोकेश साउदले अवार्ड जित्न सफल भए।

यस अवार्डको मनोनयनमा साउदसहित भुपेन्द्र ओली, बिनोद बिष्ट, खडक रावल र माधव अवस्थी परेका थिए।

समारोहमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका वरिष्ठ फोटो पत्रकार देवेन्द्रमान सिंहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको थियो।

त्यस्तै, संस्थाका आजीवन सदस्य स्व. चुङ्बा शेर्पालाई मरणोपरान्त विशेष सम्मान प्रदान गरिएको थियो।

राष्ट्रिय फोटो पत्रकार आपतकालीन राहत कोषमा योगदान गर्ने विभिन्न समाजसेवी तथा शुभेच्छुकहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्स्योरेन्सका ब्राण्डिङ एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्रप्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सह–सम्पादक मनोज दाहाल सम्मिलित गठित निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट फोटो पत्रकारहरुलाई ’पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ बाट सम्मान गर्ने निर्णय गरेको थियो।