गण्डकी प्रदेशस्तरिय ‘फ्री मिडिया नेटवर्क’  गठन

गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङलाई नेटवर्कको सल्लाहकारमा चयन गरिएको छ

जनसम्मत
वैशाख १२, २०८२, शुक्रबार

पोखरामा आज (शुक्रबार) गण्डकी प्रदेशस्तरिय फ्री मिडिया नेटवर्क गठन गरिएको छ।

बहुसरोकारवालाबीच समन्वय, सहकार्य र पारस्परिक जवाफदेहिता अभिवृद्धिका लागि गण्डकी प्रदेशस्तरिय फ्री मिडिया नेटवर्क गठन गरिएको हो।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश संयोजक रहनेगरी गठित कार्यसमितिमा मानवअधिकार, पत्रकार, अधिवक्ता, सरकारी कर्मचारी, उद्योग व्यवसायी, प्रहरीसम्बद्ध संघसंस्था सदस्य छन्।

सदस्यमा राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, गण्डकी प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ वाहिनी पोखरा, इन्सेक गण्डकी, गैरसरकारी संस्था महासंघ गण्डकी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रदेश नीति तथा योजना आयोग, उच्च अदालत बार एसोसिएसन पोखरा, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, वरिष्ठ पत्रकार नारायण कार्की छन्।

सल्लाहकारमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ छन्।

युरोपियन युनियनको आर्थिक सहयोग र इन्टरनेशनल अलर्टको प्राविधिक सहयोग तथा नेपाल पत्रकार महासंघ, संचारिका समूह र एकाउन्टीबिलिटी ल्याबको संयुक्त सहकार्यमा संचालित ‘लोकतन्त्रको शुद्धीकरण: नागरिक आवाज, संलग्नता र जवाफदेहिता’ अन्तर्गत पत्रकार महासंघ गण्डकीको आयोजनामा भएको ‘फ्री मिडिया नेटवर्क गठन तथा प्रदेशस्तरीय संवाद’ कार्यक्रमबीच सो समिति गठन गरिएको पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले जानकारी दिएका छन्।

फ्री मिडिया नेटवर्कले पत्रकारको स्वतन्त्र तथा आत्मनिर्भर भएर लेख्न पाउने कार्यको सुरक्षालाई सहयोग गर्ने, समाचारका विषयवस्तुको छलफल गर्ने, गलत सूचना संप्रेषण हुने कार्यमा कमी ल्याउने, मिडियाको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकार तथा प्रदेश एवं स्थानीय सरकारका प्रमुख सरोकारवालाबीच पुलको काम गर्ने लगायतका कार्यहरुमा सहजीकरण गर्ने पत्रकार महासंघ उपाध्यक्ष उमीद वागचन्दले जनाए।

साथै, मिडिया अधिकार उल्लंघनका घटनाको निरीक्षण गर्ने र अभिलेखीकरणमा सहयोगलगायतका कार्यहरुमा नेटवर्कले जिम्मेवारी पूरा गर्ने वागचन्दको भनाई छ।

‘फ्री मिडिया नेटवर्क गठन तथा प्रदेशस्तरीय संवाद’ कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका सूचना अधिकारी प्रवीण ढकाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी उपसचिव पार्वती लामिछाने, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख नीतु गर्तौला, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने, प्रेस स्वतन्त्रता सेनानी नारायण कार्की, नेपाल पत्रकार महासंघ उपाध्यक्षद्वय उमीद वागचन्द र नीतु गर्लौला, महासंघ सचिव रमेश खतिवडा, पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, इन्सेक गण्डकी संयोजक शिव खकुरेल, सशस्त्र प्रहरी बल नं. ४ मुक्तिनाथ वाहिनी पोखराका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश सुवेदी, उच्च अदालत बार एसोसिएसन पोखरा अध्यक्ष विष्णुप्रसाद शर्मा, पत्रकार महासंघ निवर्तमान केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, गण्डकी प्रदेश नीति तथा योजना आयोग सदस्य गीता घिमिरे, राष्ट्रिय दलित पत्रकार संघ गण्डकी अध्यक्ष पूर्ण बिके, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्राविधिक सहायक चोलाकान्त सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए।