‘प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ’

सन्दर्भ: आठौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस

जनसम्मत
वैशाख १७, २०८२, बुधबार

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गंभीर बन्नुपर्ने औंल्याएका छन्।

आठौं राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशन: साइबर सेक्युरिटी एण्ड एआई’ विषयक सेमिनारमा प्रमुख अतिथि रहेका भट्टले उल्लेख गरे, ‘प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षाको खतरा पनि उत्तिकै छ।’

सूचना प्रविधिको विकास र प्रयोगमार्फत् मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार लागिपरेको भन्दै उनले उल्लेख गरे।

यस डिजिटल युगमा सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिने उनको भनाई थियो।

‘कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भनिरहँदा प्रविधिको क्षेत्रमा भएको द्र्रूततर विकासले पछिल्लो समय सूचना प्रविधि पनि प्रमुख आधारका रुपमा थपिएको छ। प्रविधिपोख्त युवाका माध्यमबाट संचार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ ’, उनले भने।

नेपाल डिजिटल अर्थतन्त्रतर्फ तीब्र गतिमा अघि बढिरहेको सन्दर्भमा देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता रहेको प्रदेश प्रमुख भट्टले उल्लेख गरे।

उनले थपे, ‘आज शिक्षा, स्वास्थ्य, बैंकिङ, उद्योगदेखि सरकारी सेवा तथा प्रशासन डिजिटल प्रविधिमा रुपान्तरण भइरहेको छ। साइबर सुरक्षा र कृत्रिम बौद्धिकताजस्ता प्रविधिहरू अब प्रविधि विज्ञहरूको लागि मात्र नभई आम नागरिकका लागि समेत आवश्यक ज्ञान बनिसकेको छ।’

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भइसकेको उल्लेख गर्दै उनले एआईको प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरी राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१ को मस्यौदामाथि छलफल भइरहेको जनाए।

भट्टले अहिले विज्ञान प्रविधिको क्षेत्रमा अभूतपूर्व रूपले एआईको प्रयोग हुँदै आएकोमा यसको प्रयोग नैतिक, जिम्मेवार र पारदर्शी हुन आवश्यक रहेकोमा जोड दिए।

‘साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यक छ। विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गएपनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न नै यो कदम चालिएको हो’, उनले स्पष्ट पारे।

कार्यक्रम क्यान महासंघ, कास्कीका अध्यक्ष पुरुषोत्तम कुवँरको अध्यक्षतामा भएको थियो।

नेपालमा यस वर्षपनि मे २ तारिखका दिन “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नाराका साथ आठौं आइसीटी दिवस मनाइँदैछ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको अगुवाईमा हरेक वर्ष विशेष कार्यक्रम हुने गर्दछ।