
‘नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ।
बुधबार पोखराको लेकसाइडस्थित बुमर्याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्ट्स अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका मनोनयनमा पर्न सफल ३/३ जना खेलाडीको नाम सार्वजनिक गरिएको छ।
यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने अवार्डअन्तर्गत मनोनयनको वर्ष खेलाडी पुरुषतर्फ वर्ष सर्वोत्कृष्ट पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन्।
त्यस्तै, वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आइटीएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर (बागलुङ) परेका छन्।
त्यसैगरी, वर्ष उदीयमान खेलाडीमा एथ्लेटिक्सका बादल कार्की (बागलुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा) र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ।
यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) मनोनयनमा परेका छन्।
स्पोर्ट्स अवार्डअन्तर्गत उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गरेको छ।
टाईगर ग्रुप अफ पोखरा नेपालले उत्कृष्ट प्रशिक्षक पुरस्कारको प्रायोजन गरेको छ।
निट डेन्टल केयर प्रालिले उत्कृष्ट खेलकुद संस्था पुरस्कार प्रायोजन गरेको छ।
सिटीजन फर्निचरले लाइफटाइम अचिभमेन्ट अवार्डको प्रायोजन गर्नेछ ।
नवौं संस्करणको यो स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ।
भूतपूर्व खेलाडी मञ्च नेपाल, जिल्ला एथ्लेटिक्स संघ कास्की, मदन भण्डारी स्पोर्टस् एकेडेमी, हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपाल, बुमर्याङ रेष्टुरेण्ट, एन्फा गण्डकी, पोखरा पिज्जा हाउस, सोल्टी पिउने पानी र यती एयरलाईन्सले समेत स्पोर्ट्स अवार्ड कार्यक्रमका लागि सहयोग घोषणा गरिसकेका छन्।