
नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की शाखाले नयाँ वर्ष–२०८२ को शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रम गरेको छ।
फोनिज कास्कीको आयोजनामा आज (बुधबार) पोखरामा आयोजना गरिएको नयाँ वर्ष–२०८२ को अवसरमा ‘समावेशी लोकतनत्रको आधार, पूर्ण समाबेशी संचार’ विषयक शुभकामना आदान–प्रदान तथा बधाई कार्यक्रमको अवसरमा वक्ताहरुले आ–आफ्नो भनाइ राखे।
शाखाका सल्लाहकार तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले सो कार्यक्रममा बोल्दै सबै पत्रकारहरुको क्षमता अभिवृद्धि हुनुपर्नेमा जोड दिए।
उनले पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको पत्रकार महासंघले समावेसी रुपमा समग्र पत्रकारहरुलाई अघि बढाउनुपर्ने उल्लेख गरे।
उनको आग्रह थियो, ‘आदिवासी जनजाति पत्रकारहरुले पत्रकारिताभन्दा माथि उठेर आदिवासी जनजातिको हक अधिकार सुनिश्चितताका लागि कलम चलाउनुस्। तीनै तहका सरकारसमक्ष विभिन्न कार्यक्रमका लागि माग गर्नूस्।’
तमुले विभिन्न पत्रकार संघसंस्थामा निर्वाचित भएका फोनिजकर्मीहरुलाई बधाई ज्ञापनसमेत गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले प्रतिस्पर्धी अवस्थामा विना मेहेनत आफ्नो लक्ष्य र उद्देश्य पूरा नहुने टिप्पणी गरे।
पौडेलले समावेशी सिद्धान्तलाई आत्मसाथ गर्दै कास्की र गण्डकीले पत्रकारमैत्री कार्यक्रमहरु संचालन गरिरहेको बताए।
फोनिजकर्मीहरुको माग सम्बोधनमा तत्पर रहने उनको प्रतिबद्धता थियो।
फोनिजका गण्डकी प्रदेश इञ्चार्ज रुद्र श्रीसमगरले कास्की र गण्डकीमा रहेका फोनिजकर्मीको आवश्यकता, मागलगायत बिषयलाई केन्द्रसम्म पुर्याउने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, फोनिज कास्कीका निवर्तमान अध्यक्ष दिलप्रसाद गुरुङ र आदिवासी जनजाति संघसस्थाको तर्फबाट नेवा खल कास्कीका महासचिव श्रीकृष्ण कतिलाले शुभकामना मन्तव्य राखेका थिए।