वितेको वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना

७३ वटा घटनामा २ जना पत्रकारको हत्या, गिरफ्तारी २, कब्जा तथा अवरोध ९, पत्रकार दुर्व्यवहार तथा धम्कीका घटना २४, आक्रमणका २० घटना छन्

जनसम्मत
वैशाख २०, २०८२, शनिबार

यस वर्ष प्रेस स्वतन्त्रता हननका ७३ घटनाहरु अभिलेखीकरण गरिएको छ।

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मे ४ सन् २०२४ देखि २०२५ अप्रिल ३० सम्म महासंघको संचार अनुगमन इकाईमा अभिलेख भएका घटनाको प्रतिवेदन सार्वजनिक गरेको हो।

पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले यस वर्ष ७३ वटा घटना अभिलेख भएको बताइन्।

गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि भएको शर्माले बताइन्।

शर्माले भनिन्, ‘वितेको वर्षमा ७३ वटा घटनामा २ जना पत्रकारको हत्या भएको छ। गिरफ्तारी २, कब्जा तथा अवरोध ९, पत्रकार दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका २० वटा घटना छन्। यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना घटेका छन्।’

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारहरु मानवअधिकारको रक्षक रहेको बताए।

त्यसमा आयोग र पत्रकारहरुबीच सहकार्य गरी अघि बढ्नुपर्ने कुरामा मगरले जोड दिए।

उनले भने, ‘मानवअअधिकारको पक्षमा क्रियाशील सबै एक भएर सरकारलाई दवाव दिन सकेमात्र मानवअधिकार थप सुदृढ हुनेछ।’

नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले प्रेस स्वतन्त्रताको दुरुपयोग भएको गुनासो बढिरहेको बताउँदै त्यसतर्फ सचेत हुनुपर्ने जनाए।

विरहीले आफ्नो धारणा राखे, ‘राज्यले नियमनका नाममा नियन्त्रण गर्छ कि भन्ने त्रास बढिरहेको छ। त्यसतर्फ, सजक रहनुपर्छ।’

महासंघका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले धन्यवाद ज्ञापन गर्दै प्रेस स्वतन्त्रताका विभिन्न घटनाले प्रेसको अवस्था उजागर गरेको बताए।

आचार्यले भने, ‘प्रेस स्वतन्त्रता पत्रकारका लागि मात्र नभएर, सबैका लागि आवश्यक छ। प्रेस स्वतन्त्रताको सुरक्षाका लागि सबै एक भएर अघि बढ्नुपर्छ।’

कार्यक्रममा चैत १५ गते काठमाण्डौंको तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका सम्बन्धमा महासंघले तयार पारेको घटनाको प्रतिवेदन सार्वजनिक गरिएको छ।

महासंघका उपाध्यक्ष उमीद बागचन्दको अध्यक्षतामा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो।

महासंघले लैंगिक समानता तथा सामाजिक समावेशिता पुरस्कार २०८२ (GESI Champion Media Award) बाट सामुदायिक रेडियो टीकापुर एफएम १०१ मेगाहर्ज, कैलालीलाई सम्मान गरेको छ।

दिवसका अवसरमा महासंघ केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले संयुक्त रूपमा टिकापुर एफएमलाई प्रमाणपत्र प्रदान गरे।

उक्त पुरस्कारको मुख्य उद्देश्य नेपाली मिडिया क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरणको प्रवर्द्धन गरी सुरक्षित पत्रकारिताको प्रत्याभूति गर्नु रहेको छ।

यस पुरस्कारका लागि २०८२ वैशाख २ गते आवेदन आह्वान गरिएको थियो।

त्यसमा कूल २३ संचारमाध्यमले सहभागिता जनाएका थिए।

प्राप्त आवेदनहरूमध्येबाट अनलाइन पोर्टलतर्फ ७ (२९%), रेडियो/एफएमतर्फ १३ (५४%), टेलिभिजनतर्फ १ (४%) र पत्रपत्रिकातर्फ ३ (१३%) थिए।

मूल्यांकनका प्रमुख आधारहरू संचारमाध्यममा महिला सहभागिता, समावेशी भर्ना प्रणाली, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, महिलाका मुद्दालाई प्राथमिकता, गुनासो व्यवस्थापन, लैंगिक तथा अपांगमैत्री कार्यालय र पूर्वाधार, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐनलगायत सरकारी नियमको पालना र प्रशिक्षण फेलोसीपमा महिलालगायत अन्य समावेशी वर्गलाई अवसर दिइएको थियो।

आवेदन आएका मध्यबाट टीकापुर एफएम १०१ मेगाहर्जले लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण र कार्यान्वयन, महिला तथा सीमान्तकृत समुदायका पत्रकारहरूको सहभागिता, सुरक्षित कार्य वातावरण र समग्र मिडिया क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै अवार्ड वितरण गरिएको महासंघले जनाएको छ।