पोखरा स्पोर्ट्स अवार्ड: विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड

पत्रकार नेपालले पुरस्कार राशि ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्राप्त गर्नेछन्

जनसम्मत
वैशाख २१, २०८२, आइतबार

‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत पत्रकार विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड प्रदान गर्ने भएको छ।

मञ्चले यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा पत्रकार नेपाललाई ३५ हजार नगदसहित अवार्ड र सम्मानपत्र प्रदान गर्नेछ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा आज (आइतबार) बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो।

प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानीत रोहितराज पराजुली एवं प्रदेश सदस्य मञ्चका अध्यक्ष एमबी आस्थामगर र महासचिव परशुराम शर्मा थिए।

सो अवसरमा वर्ष खेलाडीसहित विभिन्न ७ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव परशुराम शर्माले जनाए।

मञ्चका पूर्व महासचिव रहेका पत्रकार नेपाल हाल राजधानी दैनिक, आदर्श समाज दैनिक र हिमालप्रेसमा कार्यरत छन्।

पत्रकार नेपाल बाबु शालिकराम नेपाल र आमा सीतादेवी नेपालबाट पाल्पाको रिब्दीकोट–७, मैनादीमा जन्मिएका हुन्।

पत्रकार नेपालले अंग्रेजी साहित्यमा एमए र एलएलबी उत्तीर्ण छन्।

पत्रकार नेपाल, करिब दुई दशकदेखि पोखरामा निरन्तर पत्रकारितामा क्रियाशील छन्।

यसअघि, उत्कृट खेल पत्रकारिता अवार्डबाट सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीले प्राप्त गरिसकेका छन्।