
‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड शूटिङकी ओलम्पियन भगवती खत्री केसीलाई अर्पण गरिने भएको छ।
प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली खत्रीले अवार्ड पाउने निश्चित भएको हो।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरको हलमा आयोजना गरिने भव्य कार्यक्रममा ओलम्पियन खत्रीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान अर्पण गरिनेछ।
बागलुङकी भगवती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक जितिसकेकी छिन्।
उनले नवौं राष्ट्रिय प्रतियोगिताको शूटिङमा प्रथम, १२ औं राष्ट्रिय शूटिङ प्रतियोगितामा प्रथम, प्रथम खुला शूटिङ प्रतियोगितामा प्रथम, चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, पाचौं राष्ट्रिय प्रतियोगितामा द्धितीय र १२ औं राष्ट्रिय शूटिङ प्रतियोगितामा ‘बेस्ट प्लेयर’ को उपाधी प्राप्त गरिसकेकी छिन्।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ सिड्नीमा भएको २७ औं ओलम्पिक गेममा सहभागी ओलम्पियन खत्रीले राष्ट्रिय कीर्तिमानीसमेत कायम गरेकी थिइन्।
विभिन्न ७ वटा संस्करणका एसियन गेममा सहभागीलगायत साफ च्याम्पियन र अन्तर्राराष्ट्रिय शूटिङ प्रतियोगितामा खत्री सहभागी भइसकेकी छिन्।
ओलम्पियन खत्रीले गोरखा दक्षिण बाहु मानपदवी प्राप्त गरिसकेकी छिन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन २०६३ बाट उत्कृष्ट खेलाडीको रुपमा घोषणा भइसकेकी छिन्।
ओलम्पियन खत्रीले गण्डकी प्रदेशमा शूटिङ प्रशिक्षकको रुपमा २०५१ सालदेखि खेलाडीलाई निशुल्क प्रशिक्षण समेत गराउँदै आएकी छिन्।
यसअघि, मञ्चद्वारा प्रत्येक वर्ष प्रदान गर्ने ‘लाइफ टाइम अचिभमेनट अवार्ड’ बाट पोखराका अग्रज खेलाडीहरु कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई, विद्याप्रसाद मरासिनी र इन्द्रा मल्ल सम्मानीत भइसकेका छन्।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष ‘पोखरा स्पोर्टस् अवार्ड’ गर्दै आइरहेको छ।
अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी (पुरुष), वर्ष खेलाडी (महिला), वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिदै आएको मञ्चका अध्यक्ष एमबी आस्थामगरले जनाएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका संपूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा परिचित छ।