इरान, लायन्स कप पुरुष भलिबलको च्याम्पियन

विभागीय नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हराउँदै इरानले उपाधि जित्यो

जनसम्मत
वैशाख २२, २०८२, सोमबार

इरान प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

पोखरा रंगशालामा आज (सोमबार) फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–१ सेटमा हराउँदै इरान च्याम्पियन बन्यो।

च्याम्पियन बनेको इरानले उपाधिसहित ४ लाख ४४ हजार ४४४ रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार जित्यो।

उपविजेता पुलिसले २ लाख ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्‍यो।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा ४ दिन चलेको प्रतियोगितामा इरान, भारतको टिमसहित विभागीय ३ र घरेलु गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गरेको थियो।

फाइनलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानले दोस्रो सेट २४–२६ ले गुमाएको थियो।

तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै इरानले पहिलोपल्ट उपाधिमा नाम लेखाउन सफल बन्यो।

उसले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको हो।

यसअघि, विभागीय एपीएफलाई ३–१ सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गर्‍यो।

पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट २२–२५ मा एपीएफलाई सुम्पिएको थियो।

चौथो सेट २५–२३ ले जित निकाल्दै आर्मीले तेस्रो स्थानसहित १ लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गर्‍यो।