‘डिजिटलीकरण युगको अग्रमोर्चामा सधैँ प्रेस सेन्टर नेपाल’

प्रेस सेन्टर नेपालको नयाँ कार्यसमितिको सपथ ग्रहण र पद हस्तान्तरण

जनसम्मत
वैशाख १३, २०८२, शनिबार

नेकपा माओबादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रेस सेन्टर नेपाललाई डिजिटलीकरण युगको अग्रमोर्चामा रहँदै आएको बताएका छन्।

प्रेस सेन्टर नेपालको नयाँ कार्यसमितिको सपथ ग्रहण र पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ‘प्रचण्ड’ ले भने, ‘वर्तमान समयको डिजिटलीकरण युगमा प्रेस सेन्टर नेपाल सधैँ अग्रमोर्चामा उभिएको छ।’

जनयुद्धको कठिन समयमा जनमुक्ति सेनाले निभाएको भूमिकालाई ‘प्रचण्ड’ ले स्मरण गरे।

उनले शान्ति प्रक्रियापछि प्रेस सेन्टर नेपाललाई प्रचारको अग्रसेनाको रुपमा अगाडि बढाउने संकल्प गरेका छन्।

उनले महाधिवेशनमा निर्वाचित तथा उपविजेता पदाधिकारीहरूबीच देखिएको उदाहरणीय सम्बन्धले संगठनलाई अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे।

अध्यक्ष ‘प्रचण्ड’ ले आग्रह गरे, ‘प्रेस सेन्टर नेपालले आफ्ना गतिविधिहरूमा जनताको सम्बन्ध बलियो बनाउने कामका लागि सकारात्मक प्रभाव पार्ने दिशामा लाग्नुहोला। पार्टीको चुनावी प्रक्रिया पूँजीवादी सत्तामा जस्तै पैसाको खेल नभई संगठनात्मक विश्वास र आदर्शमा आधारित रहन्छ। नयाँ नेतृत्वलाई जनताको हितमा काम गर्न र राष्ट्रको रक्षाका निम्ति भूमिका निर्वाह गर्न आह्वान गर्दछु।’

राजावादी शक्तिहरूको असफल प्रयास र जनताको बीचमा फैलाइएको भ्रमको भण्डाफोर गर्दै, प्रेस सेन्टर नेपालको उपलब्धिहरूको रक्षा गर्न ‘प्रचण्ड’ले सबैलाई आह्वान गरे।

प्रेस सेन्टर नेपाललाई राष्ट्र र जनताको हितमा निरन्तर अगाडि बढाउने दृढ संकल्पको साथ सम्पन्न भएको उनले उल्लेख गरे।

अध्यक्ष ‘प्रचण्ड’ ले संपूर्ण नव–निर्वाचित तथा निवर्तमान पदाधिकारीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरे।

प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनपछि गठित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण र पद हस्तान्तरण गरिएको थियो।

प्रेस सेन्टर नेपालले पाँचौं राष्ट्रिय महाधिवेशन अघिल्लो महिना नै भव्य रूपमा सम्पन्न गरेको थियो।