
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका हरेक परिवर्तनहरूमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका छन्।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा संचार प्रविधि मन्त्रालयले आयोजना गरेको वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त तथा प्रभावकारी माध्यम बनेको छ।’
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताए।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो बनाउनु छ। जनताले अपेक्षा गरेको सुशासन, विकास र आर्थिक समृद्धिको युगानुकूल चाहनालाई पूरा गर्नु छ। यस अभियानमा नेपाली प्रेसले अझ प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त छु’, राष्ट्रपति पौडेलको भनाइ थियो।
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न नसकिने राष्ट्रपति पौडेलले स्पष्ट पारे।
उनले भने, ‘त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो। संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्भय र स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। त्यसैगरी सत्य तथ्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गर्नु जिम्मेवार प्रेसको धर्म हो। यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुनेछ भन्ने मैले विश्वास लिएको छु।’
राष्ट्रपति पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताए।
‘सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान आमसञ्चार माध्यम सामु थपिएको चुनौती छ। यस्ता चुनौतीको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।
संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुृरुङले संचार क्षेत्रको विकास र विस्तारका लागि विभिन्न नयाँ कानुनी व्यवस्थाहरु ल्याउन लागिएको जानकारी दिए।
उनले संचार क्षेत्र संयमित र राष्ट्रसेवाप्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए।
मन्त्री गुरुङले भने, ‘संचार क्षेत्र कानुनी हिसाबले पनि संक्रमणकालीन अवस्थामै छ। कानुन बनाउने क्रम जारी छ। पत्रकारिता पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन जरुरी छ। संचार क्षेत्रले भोग्नुपरेका तमामखाले समस्या समाधान गर्न सरकार प्रयासरत छ।’
यसैगरी, संचार मन्त्रालयकी सचिव राधिका अर्यालले संचार क्षेत्रले भोग्नुपरेका चुनौतीहरुको विश्लेषण गरी समाधानको प्रयास थालिएको बताइन्।
पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको विकासका क्रममा सामाजिक सञ्जालका कारण सिंगो पत्रकारिता क्षेत्रले संकट व्यहोर्नुपरेको उल्लेख गरिन्।
सामाजिक सञ्जालको नियमन र व्यवस्थापन अपरिहार्य भएको शर्माको भनाई थियो।
वरिष्ठ पत्रकारबाट सम्मानीत पत्रकार महासंघका पुर्व अध्यक्ष विपुल पोखरेले प्रेस लोकतन्त्रको आधार भएकाले प्रेसलाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए।
पोखरेलले जोड दिए, ‘नेपाली प्रेसले संसारकै सक्षम र दक्ष पत्रकार उत्पादन गर्नुपर्छ। त्यसका लागि सूचना प्रविधिको प्रयोगसँगै पत्रकारितालाई अझ व्यवस्थित र मर्यादित बनाउनुपर्छ।’