राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मानबाट श्रमजीवी पत्रकारहरु नै वञ्चित !

राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणबारे प्रेस सेन्टर नेपालको धारणा सार्वजनिक

जनसम्मत
वैशाख २५, २०८२, बिहीवार

प्रेस सेन्टर नेपालले श्रमजीवी पत्रकारहरु राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मानबाट वञ्चित भएको भन्दै आपत्ति जनाएको छ।

नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले बुधबार वितरण गरेको राष्ट्रिय पत्रकारिता पुरस्बारबारे प्रेस सेन्टर नेपालले आफ्नो धारणा सार्वजनिक गर्दै दुई ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस र नेकपा एमालेका पत्रकार संगठनहरु प्रेस युनियन प्रेस चौतारीको दलीय भागवण्डामा राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण गरिएको जनाएको छ।

प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तिमगरद्वारा जारी विज्ञप्तिमार्फत सरकारको यस खालको रबैयाले देशभरका स्वतन्त्र, सक्रिय, श्रमजीवी पत्रकारहरुलाई वञ्चित भएको जनाइएको छ।

दलीय भागवण्डामा छनोट गरिएको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणले देशभरका हजारौं स्वतन्त्र, सक्रिय, श्रमजीवी पत्रकारहरुलाई निरास बनाइनुका साथै उनीहरुले पत्रकारितामा दिएको योगदानलाई अवमुल्यन गरिएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार दलीय भागवण्डामा छनोट गरिएको छ। देशभरका स्वतन्त्र, सक्रिय, श्रमजीवी पत्रकारहरुलाई वञ्चित गरेर दलीय भागवण्डामा गरिएको पुरस्कार छनोटको प्रेस सेन्टर नेपाल घोर निन्दा र भर्त्सना गर्दछ। सरकारको यस खालको रबैयाले हजारौं पत्रकारलाई निरास बनाउनुका साथै पत्रकारितामा उनीहरुको योगदानलाई अवमुल्यन गरेको छ। यसले पत्रकारिता पुरस्कारको गरिमालाई कमजोर बनाएको छ।

प्रेस सेन्टर नेपालले संवैधानिका निकायमा रहेको राष्ट्रिय सूचना आयोगले समेत हालै प्रदान गरेको विभिन्न पुरस्कारको छनोटमा स्पष्ट दलीय छायाँ परेको जनाएको छ। संवैधानिक निकायमा दलीय छायाँ पर्नु गम्भीर भएको प्रेस सेन्टर नेपालले जनाएको छ।

‘संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले आफ्नो स्वतन्त्रता गुमाएर दलीय छायाँमा गरेको निर्णयको प्रेस सेन्टर नेपाल घोर निन्दा र भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगले गरेको यस प्रकारको दलीय भागवण्डाको सामूहिक प्रतिवाद गर्न प्रेससँग सम्बन्धित संबै संघसंस्था, संगठनसँग प्रेस सेन्टर नेपालले आब्हानसमेत गरेको छ।

आगामी दिनमा पुरस्कार छनोट गर्दा दलीय भागवण्डाबाट मुक्त भई नेपालको संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशितालाई आत्मसाथ गरेर विभिन्न जातजाति, भाषा र भूगोलका सक्रिय तथा श्रमजीवी पत्रकारहरुलाई पुरस्कार दिने मापदण्ड बनाउन प्रेस सेन्टर नेपालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।

हेरौं, विज्ञप्ति