पोखरा स्पोर्टस् अवार्ड: अरुणा र विश्वास वर्ष खेलाडी

शूटिङकी प्रशिक्षक एवं ओलम्पियन भगवती खत्री केसीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

जनसम्मत
वैशाख २६, २०८२, शुक्रबार

भलिबलका खेलाडीहरु अरुणा शाही र विश्वास अधिकारी नवौं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी बनेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना गरेको समारोहमा नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा र गण्डकी प्रदेश भलिबल टिमका महत्वपूर्ण खेलाडी विश्वास वर्ष खेलाडीका रुपमा घोषित भएका हुन्।

स्पोर्ट्स अवार्डका लागि मनोनयनमा परेका उत्कृष्ट ३ मध्ये वर्ष खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही वर्ष खेलाडी घोषित भएकी हुन्।

वर्ष खेलाडी महिला विधामा अरुणासहित आइटीएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापामगर र फेन्सिङकी कृपा गुरुङ मनोनयनमा परेका थिए।

पुरुषतर्फ भलिबलका विश्वास अधिकारी वर्ष खेलाडी बनेका हुन्।

पुरुषतर्फ विश्वाससहित टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए।

वर्ष खेलाडी विजेता उनीहरु दुवैले टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्राप्त गरे।

मञ्चले बाट शूटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई ‘लाइफटाइम अचिभेमन्ट अवार्ड’ सम्मान गर्‍यो।

चाँदीको करुवासहित ओलम्पियन भगवतीलाई अवार्ड प्रदान गरिएको हो।

क्रिकेटकी रचना चौधरी उत्कृष्ट उदीयमान खेलाडी बनिन्।

उत्कृष्ट उदीयमान खेलाडीको विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्कीसमेत मनोनयनमा परेका थिए।

राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे।

अवार्डअन्तर्गत यो विधाको मनोनयनमा राजेन्द्रसहित टेनिसका नीरज थापा र भलिबलका रमेश केसी थिए।

म्याग्दी जिल्ला भलिबल संघले उत्कृष्ट खेल संस्थाको अवार्ड प्राप्त गर्‍यो।

पत्रकार बिजय नेपालले वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड पाए।

उनीहरूले ३५ हजारसहित अवार्ड हात पारेका हुन्।