
प्रेस काउन्सिल नेपालले ‘न्यूज रूम’मा रचनात्मक पत्रकारिताको अभियान थालेको छ।
काउन्सिलको गत साउन महिनामा बसेको बोर्ड बैठकले ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको बहस अघि बढाउने निर्णय गरेको थियो।
सो अभियानको सुरुवात आज (मंगलबार) गोरखापत्र संस्थानबाट गरिएको हो।
संस्थानले भोली (बुधबार) १२५ औँ वार्षिकोत्सव मनाउँदैछ।
सो अवसरमा विभिन्न कार्यक्रम भइरहँदा आज (मंगलबार) प्रेस काउन्सिल नेपाल र गोरखापत्र संस्थानले ‘रचनात्मक एवं समाधानमुखी पत्रकारिताको बाटो’ विषयक विशेष कार्यक्रम आयोजना गरेको हो।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘केही हुँदैन’ भन्ने गलत भाष्य हटाएर आशाको संचार गर्न संचारकर्मीको विशेष भूमिका रहने औंल्याए।
गोरखापत्र नेपालको पत्रकारिताको मानक भएकाले यहीँबाट ‘न्यूज रूम’ मा रचनात्मक र समाधानमुखी पत्रकारिताको बहसको सुरुवात गरिएको उल्लेख गरे।
बस्नेतले भने, ‘जनमानसमा कुनै बेला पत्रिका भनेको गोरखापत्र नै हो भनेर बुझिन्थ्यो। दक्षिण एसियाकै पुरानो संचार संस्थामा पर्ने यसका प्रकाशनमार्फत रचनात्मक पत्रकारिताको अभियानलाई जोडिएको हो।’
वार्षिकोत्सवलाई कसरी रचनात्मक बनाउने ? भन्ने सन्दर्भमा १२५ वर्षको गोरखापत्रको इतिहासमा यो पटक फरक खालको कार्यक्रम भएको अध्यक्ष बस्नेतले बताए।
सन् ६० को दशकदेखि रचनात्मक पत्रकारिता कुनै न कुनै तवरले आएपनि नेपालमा फाट्टफुट्ट मात्रै यसको प्रयोग भएको बस्नेतले उल्लेख गरे।
अहिले मूलधारको पत्रकारितामाथि चुनौती रहेकाले मिडिया बचाउनुपर्ने, संस्थागत र विश्वसनीय बनाउनुपर्ने अवस्था रहेको उनले उल्लेख बस्नेतले औंल्याए।
‘प्रेस काउन्सिल नेपालले विज्ञसँगको छलफल र सम्पादक संवादपछि अहिलेको पत्रकारिताको धार बढी सिर्जनात्मक र रचनात्मक बनाउन सकिएन भने पत्रकारितामाथि प्रश्न उठिरहने देखिएको छ। अहिले काउन्सिलले ‘न्यूज रुम’ मा जाने र त्यहाँको रचनात्मक पत्रकारिताको अभ्यास बुझ्ने र त्यसलाई बढुवा दिन ‘न्यूज रुम’, राज्य, सम्पादक र व्यवस्थापनले के गर्नुपर्छ भनेर काउन्सिल केन्द्रमा बसेर बहस सिर्जना गरिरहेको छ’, बस्नेतले भने।
गोरखापत्र संस्थानका प्रकाशनमा भइरहेको रचनात्मक पत्रकारिताको प्रयोगबारे काउन्सिलको हलमा अरू पत्रकार बोलाएर छलफल गर्न पाइयोस् भन्ने काउन्सिलले चाहेको बस्नेतले बताए।
रचनात्मक पत्रकारितामा कुनैपनि पक्षलाई गाली नभएर सिर्जनात्मक रूपमा विशेष खोज र अध्ययन गरेर समाधान दिइनुपर्ने उनले बताए।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदीले रचनात्मक पत्रकारिता वा विकास पत्रकारिता जे भनिए पनि अबको पत्रकारिताले समस्या मात्रै उजागर गर्ने नभएर समाधानको खोजी गर्नुपर्ने बताए।
गोरखापत्र विरासत र साधनस्रोतका हिसाबले अरू संचारमाध्यम भन्दा समृद्ध भएको उनले बताए।
गोरखापत्रले सुधारका लागि कार्ययोजनसहित अघि बढिरहेको उनले जानकारी दिए।
सुवेदीले भने, ‘संस्थानले गरिरहेको सुधारको प्रयत्न गोरखापत्र, द राइजिङ नेपाल र यहाँका अरू प्रकाशनमा पढ्न पाइन्छ।’
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा विश्वास कायम राख्नका लागि पनि समाधानमुखी पत्रकारिताको महत्व रहेको बताए।
ऐरीले भने, ‘अहिलेको समाजको अपेक्षाअनुसारको पत्रकारिता भइरहेको छ, छैन भनेर समीक्षा गर्न जरुरी छ’, ऐरीको भनाइ छ। गोरखापत्र जेठो र पुरानो अखबार भए पनि यसले पनि समाजले खोजेको विषय समाचारमा पस्कन नेतृत्वदायी भूमिका निभाइरहन निरन्तर छलफल आवश्यक छ।’
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले निरन्तर रूपमा रचनात्मक पत्रकारिताको छलफल अघि बढाइरहेको बताए।
पत्रकारिताको पाठ्यक्रममा नै यसलाई समेट्न पत्राचार गरिएको उनले जानकारी दिए।
काउन्सिलले संचारमाध्यममा रचनात्मक पत्रकारिताका सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए।
गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराइले काउन्सिलले गोरखापत्रले रचनात्मक पत्रकारिताको नेतृत्व गर्न सक्छ भनेर सोंच्नु संस्थानका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे।
कार्यक्रममा मिडिया अनुसन्धानकर्ता टुमराज कोइरालाले रचनात्मक पत्रकारिताका विषयमा कार्यपत्र प्रस्तुत गरे।
कार्यक्रमको सहजीकरण काउन्सिलका मुख्य अधिकृत भुसालले गरेका थिए।
सो कार्यक्रममा संस्थानका विभिन्न प्रकाशन, अनलाइनका सम्पादक र समाचारदातालगायतको सहभागिता थियो।