तनहुँ जिल्ला प्रशासनमा प्रेस सेन्टरले बुझायो ७ बुँदे ज्ञापन पत्र

ज्ञापन पत्रसँगै प्रेस सेन्टर नेपालको काठमाडौं ११ बुँदे घोषणा पत्र पनि बुझायो

जनसम्मत
वैशाख २८, २०८२, आइतबार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर नेपाल तनहुँले ज्ञापन पत्र बुझाएको छ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई आइतबार ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टर नेपाल तनहुँले पेशागत सुरक्षाको माग गरेको हो।

प्रेस सेन्टर नेपाल तनहुँकी अध्यक्ष अस्मिता खनाल, सचिव विनोद ढुंगानाले ७ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन्।

सार्वजनिक समारोह र सामाजिक सञ्जालबाट पत्रकार र पत्रकारिता जगतमाथि भइरहेको आक्रमणको अन्त्यका लागि ध्यानाकर्षण गराइएको अध्यक्ष खनालले बताइन्।

‘परिवर्तनका लागि कलम चलाएकै कारणले धाकधम्की, ज्युधनको असुरक्षा खेप्नुपर्ने स्थिति छ। सत्य तथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गरेकै कारण असुरक्षित हुने वातावरणको अन्त्यका लागि जोडदार माग गर्दछौं’, ज्ञापनपत्र बुझाउदै उनले भनिन्।

प्राकृतिक दोहनमाथिको समाचार सम्प्रेषण गर्दा सुरक्षाको प्रत्याभूति गराइदिन माग गरिएको छ।

ज्ञापन पत्रमा भनिएको छ, ‘तनहुँ जिल्लामा प्राकृतिक स्रोतको दोहन बढ्दो छ। यसले भविष्यमा विपद्का घटना निम्त्याउनेमा दुईमत छैैन। नदीजन्य पदार्थको अवैध उत्खनन् तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा प्रभावकारी अनुगमन र कारबाहीका लागि जोडदार माग गर्दछौं। साथै, प्राकृतिक दोहनको विषयमा समाचार सम्प्रेषण क्रममा सुरक्षाका प्रत्याभूति गराइदिनुहुन ध्यानाकर्षण गराउदछौं।’

४ लेनमा स्तरोन्नती भइरहेको पृथ्वी राजमार्गको आँबुखैरेनि–पोखरा खण्डमा दैनिकजसो दुर्घटना हुँदा अकालमा ज्यान गुमाउनेको संख्या बढेकाले सडक सुरक्षालाई ख्याल गर्दै दुर्घटना कम गराउन प्रशासनबाट खेल्नुपर्ने भूमिकाका लागिसमेत ध्यानाकर्षण गराइएको छ।

श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न ज्ञापन पत्रमार्फत माग गरिएको छ।

संचार माध्यम दर्ता प्रक्रियालाई सरल बनाउन, एकपटक दर्ता भइसकेपछि अन्य निकायमा पुन: दर्ता/नविकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था खारेज गरेर सहज रुपमा दर्ता गर्ने प्रबन्ध गर्न माग गरिएको छ।

‘संचारका विभिन्न माध्यम मार्फत भइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशीतालगायतका नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धि र संविधानमाथिको प्रहारलाई रोक्न माग गर्दछौं’, प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।

तनहुँमा घरवारवीहिन सडक मानवको व्यवस्थापनका लागि प्रशासनले उचित पहल गर्नका लागिसमेत माग गरिएको हो।

ज्ञापन पत्रसँगै प्रेस सेन्टर नेपालको काठमाडौं ११ बुँदे घोषणा पत्र पनि संलग्न गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ज्ञापनपत्र बुझ्दै माग गरिएका विषयमा आफू गम्भीर रहेको बताए।

उनले भने, ‘स्थानीय विषयलाई गम्भिरतापूर्वक लिएका छौं। स्थानीय तहबाट समाधान गर्नुपर्ने विषय पुर्‍याइनेछ।

नीतिगत विषयलाई पनि सम्बन्धित निकायसम्म पुर्‍याउने उनको प्रतिबद्धता छ।

पत्रकारिता जगतको सुरक्षाको विषयमा आफू गम्भीर रहेको बताउँदै समाज परिवर्तनमा पत्रकार वर्गसँग हातेमालो गर्ने उनको भनाई छ।