नेपालले मलेसियासँग सेमीफाइनल भिड्दै

एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट

जनसम्मत
असार २१, २०७६, शनिबार

पोखरा । एसीसी यु–१९ इस्टर्न रिजनको क्रिकेटमा नेपालले मलेसियासँग सेमिफाइनल खेल्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा मलेसिया हङकङसँग ३ रनले पराजित भएपछि समूहको उपविजेता बन्यो ।

समूह ‘बी’ को उपविजेता मलेसियाले समूह ‘ए’ को विजेता नेपालसँग प्रतिस्पर्धा गर्ने तय भएको छ । सेमिफाइनल खेल सोमबार हुनेछ । जसमा नेपाल र मलेसिया तथा हङकङ र सिंगापुर प्रतिस्पर्धा गर्नेछन् ।

किनरारा ओभल मैदानमा भएको खेलमा हङकङले मलेसियालाई ३ रनले हरायो । टस जितेर ब्याटिङ रोजेको हङकङले ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । उसका लागि अदित गोरावाराले ५० रनको अर्धशतकीय योगदान दिए ।

यस्तै, कालान मार्क चल्लुले ४३ रन, नसरुल्ला रानाले ३० र अरुष भागवतले २० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ मलेसियाका लागि मोहम्मद आमिर र सचिनु हिटिगेले समान ३ विकेट लिए । विजय उन्नीले दुई विकेट हात पारे ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको मलेसिया ४९ दशमलव १ ओभरमा १ सय ६९ रन बनाउँदा अलआउट भयो । मलेसियाका टप अर्डरका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

४४ रन बनाउँदा ७ विकेट गुमाएको मलेसियाका लागि मोहम्मद युशुफ र विजय उन्नीले ८७ रनको साझेदारी गर्दै मलेसियालाई खेलमा फर्काएका थिए । विजय उन्नी ३८ रनमा रन आउट भए । त्यसपछि १ सय ६३ रन बनाउँदा युशुफ व्यक्तिगत ६३ रनमा आउट भए ।
१२ बलमा ९ रन आवश्यक रहेको बेला मलेसियाले ५ बल बाँकी छँदै सबै विकेट गुमाउन पुग्यो । हङकङका विकास शर्मा र रौनक कपुरले समान ३ विकेट लिए ।