मिडिया समिटको टोली मुस्ताङको मार्फा पुग्यो

कास्कीको अन्नपूर्ण र पर्वतको जलजलामा समिट टोलीलाई स्वागत

जनसम्मत
वैशाख ३०, २०८२, मंगलवार

लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिट मुस्ताङको मार्फा पुगेको छ।

नेपाल पे्रस युनियनको आयोजनामा सुरु भएको मिडिया समिटको टोली तेस्रो दिन मुस्ताङको मार्फा पुगेको हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मिडिया समिटको टोली मुस्ताङ पुगेको हो।

पोखराको अन्नपुर्ण केवलकारमार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै सराङकोट पुगेर यात्रा सुरु गरेको थियो।

समिटमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संचार क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई अन्नपूर्ण गाउँपालिकामा बाजागाजासहित स्वगत गरिएको थियो।

अन्नपूर्ण गाँउपालिका अध्यक्ष विष्णुबहादुर केसीले कार्यक्रममा बोल्दै कृषि, पर्यटन र उर्जामा गाउँपालिकाको विकासलाई केन्द्रीत गदै नागरिकलाई सुशासनसहितको सेवाप्रवाहमा संवेदनशील भएर काम गरेको सुनाए।

उनले अन्तरराष्ट्रिय मिडिया समिटमा सहभागीहरुलाई आफ्नो गाउँमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गर्दै आएका कार्यसहितको संक्षिप्त परिचय सुनाए।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको नेतृत्वसहितको टिमलाई समिटको व्याजसहित मायाको चिनो प्रदान गरे।

त्यसलगतै, पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिकाकोे कृषि, पर्यटनको संभावनाबारे कार्यपत्र गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुदिप पौडेलले प्रस्तुत गरे।