नवलपुर जिल्ला प्रशासनमा प्रेस सेन्टरले बुझायो १० बुँदे ज्ञापन पत्र

प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेमार्फत ज्ञापनपत्र पठाइएको हो

जनसम्मत
वैशाख २८, २०८२, आइतबार

प्रेस सेन्टर नेपाल नवलपुर शाखाले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा संचारमाध्यमको सुदृढीकरणका लागि विविध मागहरू अघि सार्दै सूचना तथा संचार प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङलाई १० बुँदे ज्ञापन पत्र बुझाएको छ।

प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेमार्फत ज्ञापनपत्र पठाइएको हो।

शाखा सचिव राजु सुवेदी ‘कल्पित’ का अनुसार ज्ञापन पत्रमा संचारकर्मीहरूको पेशागत सुरक्षाको प्रत्याभूति, संचारमाध्यमहरूलाई राज्यले दिनुपर्ने सहुलियत सुविधा सुनिश्चित गर्नुपर्ने, सरकारी तथा संस्थागत विज्ञापन वितरणमा पारदर्शिता अपनाइनुपर्ने र स्थानीय संचारकर्मीहरूको हकहित सुनिश्चित गर्नुपर्ने मागहरू प्रमुख रूपमा समेटिएका छन्।

सचिव सुवेदीले भने, ‘स्थानीय तहदेखि केन्द्रसम्म संचारकर्मीको हकहित र सम्मान कायम राख्न राज्य गम्भीर हुनुपर्छ। पछिल्लो समय संचारकर्मीहरू असुरक्षित बन्दै गएका छन्। राज्यले नीतिगत तथा व्यवहारिक रूपमा संरक्षण गर्नुपर्छ।’

सचिव सुवेदीसहित शाखाका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू तथा नवलपुरका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी पाण्डेलाई ज्ञापन पत्र बुझाइएको प्रेस सेन्टर नेपाल, नवलपुरले जनाएको छ।

ज्ञापन पत्रमा संचार क्षेत्रका विभिन्न चुनौती, सरकारी निकायसँगको समन्वय अभाव तथा श्रमको न्यायोचित मूल्यांकन नहुँदा पत्रकारहरू पीडित बन्नु परेकोप्रति पनि ध्यानाकर्षण गराइएको छ।