
नेपालले यु–१९ साफ च्याम्पियनसीपको सेमिफाइनलमा स्थान बनाएको छ।
भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसीपमा श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
सोमबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० ले हरायो।
नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो।
नेपालका लागि सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्षु थापाले गोल गरे।
पहिलो हाफको इञ्जूरी समयमा सुजनको गोलमार्फत नेपालले अग्रता लियो।
कप्तान राम थापाको क्रसलाई बक्सभित्र नियन्त्रणमा लिँदै सुजनले उत्कृष्ट गोल गरे।
धर्वेन्द्रले ६२ औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए।
सुवासको क्रसलाई श्रीलंकाका रक्षक ओमिथ इदिरीसिंघेले क्लियर गर्न खोज्दा धर्वेन्द्रलाई लाग्दै गोल भएको थियो।
सुवासले ७६ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे।
८९ औं मिनेटमा विज्ञान खड्काले गोल गर्दा नेपालको अग्रता ४–० बन्यो।
सुजनको क्रसलाई बक्सभित्र नियन्त्रणमा लिँदै विज्ञानले जाली चुमाए।
खेलको इञ्जूरी समयमा लक्षुले फ्री–किकमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई ५–० को सानदार जित दिलाए।
यस समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ।
यसअघि, समूह ‘बी’ को पहिलो खेलमा भारतले श्रीलंकालाई ८–० ले हराएको थियो।
अब, नेपालले भोलि (बुधबार) भारतसँग खेल्नेछ।
यो खेल जित्ने टोली समूह विजेता हुनेछ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को १८ वर्षमुनिको संस्करण जितेको थियो।
नेपाल, पछिल्लो पटक भने फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।