
हरिबहादुर होहरा र पदमराज धितालले जुम्ला रारा अल्ट्रा म्याराथन जितेका छन्।
जुम्लाको खलङ्गामा सम्पन्न म्याराथनमा हरिबहादुरले १० किलोमिटरको अल्ट्रा म्याराथन जितेका हुन्।
त्यस्तै, पदमराजले ५ किलोमिटरको अल्ट्रा म्याराथन जितेका हुन्।
१० किलो मिटरको म्यारथनमा दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए।
विजेता हरिबहादुरले १० हजार, उपविजेता दीपेन्द्रल ६ हजार र तेस्रो बनेका महेन्द्रले ४ हजार नगद पुरस्कार जिते।
५ किलो मिटरको दौडमा नविन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो भए।
विजेता पदमराजले ५ हजार, उपविजेता नविनले ३ हजार र सरोजले २ हजार नगद पुरस्कार जिते।
१० किलोमिटर महिलातर्फको जुम्ला अल्ट्रा म्याराथान संगीता बुढाले जितिन्।
सोही स्पर्धामा सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो भए।
विजेता संगीता बुढाले १० हजार, उपविजेता सुरेशाले ६ हजार र तेस्रो बनेकी हिमालीले ४ हजार नगद पुरस्कार जितेका छन्।
यसैगरी, महिलातर्फको ५ किलोमिटर दौड विपना थारुले जितिन्।
सोही स्पर्धामा सुनिता हमाल दोस्रो र सुनिता शाही तेस्रो भए।
विजेता विपनाले ५ हजार, उपविजेता सनिता हमालले ३ हजार र तेस्रो बनेकी सुनिता शाहीले २ हजार नगद पुरस्कार जिते।
कर्णाली खेलकुद क्लब, जुम्लाले ५१ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटरको जुम्ला रारा अल्ट्रा म्याराथनको दौड आयोजना गरेको हो।
जुम्ला रारा अल्ट्रा म्याराथनको सबैभन्दा लामो दुरी ५१ किलोमिटरतर्फ ७४ जना धावक सहभागी छन्।
५ किलोमिटरमा १५५ जना र १० किलोमिटर दौडमा ३५५ जना धावकले प्रतिस्पर्धा गरेको कर्णाली खेलकुद क्लब, जुम्लाले जनाएको छ।
कर्णालीको पर्यटकीय संभावनाहरू उजागर गर्न हरेक वर्ष जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना हुँदै आएको क्लबले जनाएको छ।