न्यूजिल्यान्ड सेमीफाइनलमा

आइसीसीएक दिवसीय विश्वकप  क्रिकेट

एजेन्सी
असार २१, २०७६, शनिबार

न्यूजिल्यान्ड आइसीसी  विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लर्डस मैदानमा शुक्रबार राति भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएपनि न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सफल बन्यो ।

न्यूजिल्यान्डले पाकिस्तानलाई नेट रन रेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेल जितेपनि पाकिस्तान बाहिरियो । यस खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण समेत पूरा भएको छ । साविक विजेता अष्ट्रेलिया, भारत, आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् ।

पाकिस्तानले दिएको ३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४ दशमलव १ ओभरमा सवै विकेट गुमाएर २ सय २१ रनमा समेटिएको थियो । बंगलादेशका लागि शकिब अल हसनले अर्धसतकीय पाली खेले । सर्र्वाधिक ६४ रन बनाएका शकिबले ७७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक रन बनाएका थिए ।

लिटन दासले ३२, महमुदुल्लाहले २९, शौम्य सरकारले २२, मुस्फिक्युर रहिम र मोसादेक होसेनले समान १६ रन बनाए । कप्तान मसरफे मोर्ताजाले १५ रन बनाए । तमिम इकबालले ८ रन जोडे । पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिएका थिए । सद्दाव खानले २ विकेट लिए । मोहमद अमिर र वाहब रियाजले समान एक विकेट लिए ।

यसअघि युवा ओपनर इमाम उल हकले शतकीय पारी खेलेपछि पाकिस्तानले बंगलादेशलाई ठूलो लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो ।

पाकिस्तानका लागि ओपनर इमामले उल हकले १ सय रनको योगदान दिए । ४२ ओभरको पाँचौं बलमा हिट विकेटका रूपमा आउट हुँदै पेभेलियन फर्किनुअघि उनले विश्वकपमा पहिलो शतक पूरा गरेका थिए ।

बाबर आजमले ९६ रन बनाए । शतक बनाउन ४ रनले चुकेका बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । यसैगरी, इमाद वासिम ४३ रनमा क्याच आउट भए । मोहम्मद हफिजले २७ रन बनाए । फकार जमान १३ र हरिस सोहेलले ६ रन बनाएका थिए ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चिएर ५ विकेट लिए । मोहम्मद सैफुद्दिनले ३ तथा मेहदी हसनले १ विकेट झारेका थिए ।