यु–१९ को साफ च्याम्पियनसीपमा नेपाल भारतसँग पराजित

भारतसँग नेपाल ४–० ले स्तब्ध, सेमिफाइनलमा नेपालले बंगलादेशसँग खेल्ने

जनसम्मत
वैशाख ३०, २०८२, मंगलवार

यु–१९ को साफ च्याम्पियनसीप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको २ टोलीबीचको आज(मंगलबार) भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो।

जीतसँगै भारत समूह विजेता बनेर सेमिफाइनल पुगेको छ।

नेपाल उप विजेतामै सीमित बनेर सेमिफाइनलमा खेल्दैछ।

भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा भारतलाई जीत दिलाउन रोहिन सिंहले २ तथा ओमङ डोडुम र ड्यानी मिथेइले समान १/१ गोल गरे।

खेलको २८ औं मिनेटमा रोहिनको गोलमार्फत भारतले अग्रता लियो।

त्यसको एक मिनेट पनि बित्न नपाउँदै ओमङले दोस्रो गोल गर्दै टोलीको लागि अग्रता दोब्बर बनाए।

७६ औं मिनेटमा रोहिमले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि तेस्रो गोल गरे।

८४ औं मिनेटमा ड्यानीले गोल गर्दै भारतलाई ४–० को सहज जित दिलाए।

यसअघि, आयोजक भारतले श्रीलंकालाई ८–० ले हराएको थियो।

नेपालले पनि श्रीलंकालाई ५–० ले हराएको थियो।

अब, सेमिफाइनलमा पर्सि शुक्रवार भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग फाइनलका लागि खेल्नेछ।

नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो।

पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।