
जुम्लाका दलबहादुर कुँवर र कल्पना बुढाले छैटौं जुम्ला–रारा अल्ट्रा म्याराथन जितेका छन्।
५१ किलोमिटर म्याराथन दूरी दलबहादुर कुँवरले ५ घण्टा ५३ मिनेट १७ सेकेण्डमा पूरा गरी उपाधि जितेका हुन्।
सो स्पर्धामा ६ घण्टा ७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गर्दै त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ दोस्रो भए।
त्यसैगरी, ६ घण्टा १० मिनेट ४ सेकेन्डमा दूरी पूरा गरेका सोमबहादुर रावत तेस्रो बने।
जुम्ला–रारा अल्ट्रा म्याराथनकै महिलातर्फ कल्पना बुढाले ७ घण्टा ५१ मिनेट ३२ सेकेण्डमा दूरी पूरा गरि विजेता बनिन्।
दोस्रो भएकी राज्यलक्ष्मी रावलले ८ घण्टा ४८ मिनेट ४१ सेकेण्डमा पार गरेकी थिइन्।
तेस्रो भएकी सन्दिभा बुढाले ८ घण्टा ४६ मिनेट २ सेकेण्डमा ५१ किलोमिटर दूरी पूरा गरिन्।
अल्ट्रा म्याराथनमा पुरुष र महिला दुवैतर्फको उपाधि विजेता दलबहादुर र कल्पनाले नगद १ लाख रुपैयाँ प्रमाणपत्र र मेडल पुरस्कार हात पारे।
दोस्रो बनेका होमलाल र राज्यलक्ष्मीले नगद ७५ हजार रुपैयाँ प्रमाणपत्र र मेडल पुरस्कार पाए।
तेस्रो बनेका सोमबहादुर र सन्दिभाले नगद ५० हजार रुपैयाँ प्रमाणपत्र र मेडल पुरस्कारमा चित्त बुझाए।
कर्णाली स्पोर्टस क्लब जुम्लाको आयोजनामा सम्पन्न म्याराथन २ हजार ३५० मिटर उचाईस्थित जुम्लाको सदरमुकाम खलंगा बजारस्थित बाल मन्दिरबाट सुरु भएर चेरे, खाली, न्याउरीघाट, चौथा, डाब, चुचेमारा हँदैं रारा तालक्षेत्रको २ हजार ९८० मिटर उचाईमा पुगेर समापन भएको थियो।
जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको अन्तिम पूरा गर्ने धावक साँझ ७ वजेर २८ मिनेटमा फिनिसिङ पोइन्टमा पुगेका थिए।
जुम्ला–रारा अल्ट्रा म्याराथनको सबैभन्दा लामो दुरी ५१ किलोमिटरतर्फ ७४ जना धावक सहभागी थिए।