
पोखरामा शनिबारदेखि जेसिज सप्ताह सुरु हुँदैछ।
पोखरा जेसिजको आयोजनामा जेठ ३ गते शनिबारदेखि जेठ ६ गते मंगलबारसम्म जेसिज सप्ताह हुँदैछ।
नि:शुल्क स्वास्थ्य शिविर, निर्णय पुस्तिका (माइन्यूट) लेखन तथा वित्तीय साक्षरता तालिम र विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेर जेसिज सप्ताह मनाउन लागेको विहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।
जेसिज सप्ताहको पहिलो दिन माछापुच्छ्रे गाउँपालिकाको भेंडाबारी स्वास्थ्यचौकीमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिने संयोजक जेसी कपिल पौडेलले बताए।
माछापुच्छ्रे गाउँपालिका र हिमालय आँखा अस्पतालसँगको सहकार्यमा हुने शिविर भेंडाबारी, ल्वाङघलेल, रिभान, लाहाचोकलगायतका क्षेत्रका बासिन्दालाई लक्षित गरेर गर्न लागिएको जेसी पौडेलले उल्लेख गरे।
सप्ताहको दोस्रो दिन निर्णय पुस्तिका (मान्यूट) लेखन तथा वित्तीय साक्षरता तालिम हुनेछन्।
पोखरा महानगरपालिका–१७ को वडा कार्यालय सभाहलमा हुनेछ।
सप्ताहको तेस्रो दिन अन्नपूर्ण गाउँपालिकाको प्रगतिशिल माविमा सोहि विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक, खेलकुद तथा पोषाक (टिसर्ट) वितरण गरिने जनाइएको छ।
त्यस्तै, सप्ताहको चौथो तथा अन्तिम दिन ‘आर्थिक विकास समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौति’का विषयमक अन्तरक्रिया गरिनेछ।
लेकसाइडस्थित कुटी रिसोर्ट अन्तरक्रियासँगै सोहि दिन साँझ यो वर्षको जेसिज सप्ताहको समापन गरिनेछ।
’नेतृत्व र प्रेरणाका लागि युवा सशक्तिकरण’ को मूल नारा लिएर ५० वर्षदेखि पोखरामा निरन्तर क्रियाशील पोखरा जेसीजले युवाहरुको सशक्तिकरणका लागि काम गर्दै आएको अध्यक्ष जेसी भाइराज रानामगरले बताए।
जेसी रानामगरका अनुसार जेसीज सप्ताहले स्वास्थ्य समाजका लागि स्वास्थ्य जीवनको नारासहित स्वास्थ्य सचेतना जगाउनुको साथै युवा पुस्तालाई उद्यमशीलतालगायतका सामाजिक कार्यहरुमा आकर्षित गर्नेछ।