महिला टी–२० विश्वकप छनोट: बहराइनलाई हराउँदै नेपाल शीर्ष स्थानमा

भोलि खेलमा बहराइनसँग हङकङले हार्‍यो भने नेपाल ’सुपर थ्री’ मा पुग्छ

जनसम्मत
जेठ १, २०८२, बिहीवार

नेपालले आइसीसी महिला टी–२० विश्वकप छनोटको क्रिकेटमा बहराइनलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले बहराइनलाई डीएलएस नियमका आधारमा ६ विकेटले हराएको हो।

वर्षाले प्रभावित थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर लक्ष भेट्टायो।

नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट सर्वाधिक २४ रन बनाइन्।

बहराइनकी पवित्रा शेट्टीले ३ विकेट लिइन्।

यसअघि, टस जितेर ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थामा खेल रोकियो।

बहराइनकी रसिका रोड्रिगोले पनि सर्वाधिक २४ रन बनाइन्।

त्यसैगरी, बहराइनका ३ जनै खेलाडी रनआउट भए।

यो जीतसँगै नेपाल ४ खेलबाट ५ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।

बहराइन ३ खेलमा १ अंकसहित पुछारमा छ।

यस्तै, हङकङ ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ।

यो समूहको अन्तिम खेलमा भोलि बहराइन र हङकङ खेल्दैछन्।

यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्ने/नपुग्ने टुंगो लाग्नेछ।

यो खेल हङकङले हार्‍यो भने नेपाल ‘सुपर थ्री’ मा पुग्नेछ।

बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ ‘सुपर थ्री’ मा पुग्नेछ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ।

हरेक समूहको विजेता ‘सुपर थ्री’ मा पुग्नेछन्।

‘सुपर थ्री’को शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन्।