शकीब अल हसनको ६ सय कीर्तिमानी रन

शकीबको नाममा २ शतक र ५ अर्धशतक पनि छ

एजेन्सी
असार २२, २०७६, आइतबार

एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबार राति भएको ४३ औँ खेलमा बंगलादेशका क्रिकेटर शकीब अल हसनले नयाँ रेकर्ड बनाएका छन् ।

उनी यो विश्वकपमा ६ सय रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन् ।

शुुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गर्दा शकीब अल हसनले ६४ रन बटुल्दै यस सिजनको आइसीसी एक दिवसीय विश्वकपमा ६ सय रन पु¥याए ।

लण्डनको लर्ड्स मैदानमा भएको खेलमा बंगलादेशका शकीब अल हसन ७७ बलको सामना गर्दै ६ चौकासहित ६४ रन बनाएर पेभेलियन फर्किएका थिए । सोसँगै शकीब यस विश्वकपमा ६ सय रन पूरा गर्ने पहिलो ब्याट्सम्यान भएका हुन् । बंगलादेशका लागि विश्वकपको अन्तिम खेल खेल्ने क्रममा उनले ६०६ रन बनाएका हुन् । अन्तिम एउटै खेलमा ६ विकेट पनि लिएका छन् ।

शकीबले लगातार सात पारीमा ५० भन्दा धेरै रन बनाए । शकीबको नाममा २ शतक र ५ अर्धशतक पनि छन् । शकीबले जारी विश्वकपमा ११ विकेट पनि लिन सफल भएका छन् । भारतका रोहितले शकीबको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ ।