एक हजार ३८७ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू

गण्डकी प्रदेशमा ८९ विद्यालयमा यो कार्यक्रम लागू गरेको छ

जनसम्मत
जेठ ५, २०८२, सोमबार

आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३८७ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको छ।

स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा ‘विद्यालय नर्स कार्यक्रम’ एक हजार ३८७ विद्यालयमा लागू भएको उल्लेख गरेको छ।

उक्त प्रतिवेदनअनुसार उक्त कार्यक्रम नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाअन्तर्गत १९ प्रतिशत अर्थात २६० वटा विद्यालयमा लागु भएको छ भने बाँकी एक हजार १२७ विद्यालयमा प्रदेशअन्तर्गत लागू भएको छ।

केही निजी विद्यालयले पनि यो कार्यक्रम लागू गरेका प्रतिवेदनले उल्लेख गरेको छ।

यो कार्यक्रम सबैभन्दा बढी बागमती प्रदेशका विद्यालयमा लागू भएको छ।

बागमती प्रदेश सरकारले ८६८ वटा विद्यालयमा यो कार्यक्रम लागू गरेको छ।

त्यसैगरी, कोशी प्रदेशमा १८०, मधेश प्रदेशमा ७६, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १०२, सुदूप्रश्चिम प्रदेशमा ३६ वटा विद्यालयमा यो कार्यक्रम लागू भएको छ।

सरकारले २०७६/०७७ मा विद्यालयमा स्वास्थ्यका समस्या समाधान गर्न र विद्यार्थीका माध्यमबाट अभिभावकलाई स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशबाट पाइलट कार्यक्रको रूपमा सुरु गरेको थियो।