साफ यु–१९ च्याम्पियनसीप: भारतले उपाधि रक्षा गर्‍यो

फाइनलमा भारतले बंगलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हरायो

जनसम्मत
जेठ ४, २०८२, आइतबार

साविक विजेता भारतले यु–१९ साफ च्याम्पियनसीपको उपाधि रक्षा गरेको छ ।

भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा सोमबार भएको फाइनलमा भारतले बंगलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हरायो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

त्यसपछि, पेनाल्टी सुटआउटमा भारत भाग्यमानी ठहरियो।

निर्धारित समयको खेलमा सुरुवाती अग्रता भारतले लिएको थियो।

खेल सुरु भएको दोस्रो मिनेटमै सिंगमयुम शामीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

त्यसपछि, ६१ औँ मिनेटमा बंगलादेशका जोय अहमदले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको थियो।

यता, बंगलादेशले भने नेपाललाई २–१ गोलले स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको थियो।