
महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।
आइसीसी महिला टी–२० क्रिकेट विश्वकपको एशिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपाल घरेलु टोली थाइल्यान्डसँग ७८ रनले पराजित भएको हो।
योसँगै थाइल्यान्डले अपराजित रहँदै उपाधि जित्दा नेपाल उपविजेतामा सीमित बन्यो।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो।
नेपालकी कविता कुँवरले सर्वाधिक २४ रन बनाइन्।
थाइल्यान्डकी ओनिचा कम्चोम्फुले ह्याट्रिकसहित ४ विकेट लिइन्।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनायो।
थाइल्यान्डका नाट्या बोचाथम र नन्नापट कोन्चारोन्काईले अर्धशतक रन बनाए।
नेपालका राजमती ऐरी र मनिषा उपाध्यायले १/१ विकेट लिए।
नेपाल र थाइल्यान्ड यसअघि नै एशियाको प्रतिनिधित्व गर्दै विश्वकप छनोटमा पुगिसकेका छन्।
विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोटमा शीर्ष ४ मा रहने टोली इंग्ल्यान्डमा सन् २०२६ मा हुने टी–२० विश्वकपमा पुग्नेछन्।