गोपनीयतासँग जोडिएका सूचनाहरु दिन जरुरी छैन: गृहमन्त्री लेखक

गृहमन्त्री लेखक आग्रह गर्छन्, ‘गोपनीयताको यस कारण सूचना दिन सकिएन भन्नेकुरा लेखेर दिनुहोला’

जनसम्मत
जेठ ६, २०८२, मंगलवार

गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताएका छन्।

राष्ट्रिय सूचना आयोगले मंगलबार आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले स्पष्ट पारे, ‘संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको छ। तर, मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्धलगायतका सूचनाहरू दिन जरुरी छैन।’

उनले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गरे।

‘यसले मुलुकलाई अराजकतामा लैजान्छ। संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी छ’, गृहमन्त्री लेखकको भनाई थियो।

गृहमन्त्री लेखकले उल्लेख गरे, ‘सूचनाको हकमा, सूचना दिने हाम्रो कर्तव्य हो। सूचना प्राप्त गर्ने नागरिकको कर्तव्य हो। सूचनाको हक भन्नेबित्तिकै जे सूचना माग्यो त्यही दिनुपर्छ भन्ने छैन। कतिपय सूचनाहरू गोपनीयतासँग जोडिएका हुन्छन्। ति सूचना दिन जरुरी छैन। कतिपय सूचनाहरु मुलुकको शान्ति सुरक्षासँग जोडिएका हुन्छन्। मुलुकको प्रतिरक्षासँग जोडिएका हुन्छन्। वैदेशिक सम्बन्धसँग जोडिएका हुन्छन्। कूटनीतिक सम्बन्धहरूसँग जोडिएका हुन्छन्। अब, ती सूचनाहरू पारदर्शिताका नाममा, सुशासनका नाममा सारा सूचना दिई छोड्ने हो भनेपनि मुलुकलाई थितिमा बसाउँदैन। अराजकतामा लैजान्छ। संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ। सूचनाको हकको रेफ्री सूचना आयोग नै हो।’

गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिनपनि आग्रह गरे।

सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा लेखेर दिनसमेत आग्रह गरे।