प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलको तयारी पूरा

भलिबल लिगमा पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्दैछ

जनसम्मत
जेठ ५, २०८२, सोमबार

पोखरामा पहिलो पटक हुन गइरहेको नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको तयारी पूरा भएको छ।

एनभीए भलिबल प्रतियोगिता तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा भलिबल संघ अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।

अध्यक्ष चन्दले भलिबल संघको आयोजनामा पहिलो पटक भलिबलको ठूलो लिग पोखरामा गर्न गएको बताए।

उनले पोखरालाई ‘भलिवुड सिटी’ को संज्ञासमेत दिए।

यही जेठको ८ देखि १५ गतेसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरष भलिबल लिग हुँदैछ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबलको लोकप्रियता बढेसँगै खेल पर्यटनका लागि पनि यस पटकको प्रधानमन्त्री कप एनभीए भलिबल लिग पोखरामा गर्न लागिएको चन्दले सुनाए।

भलिबल लिगमा पुरुषतर्फ ८ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्ने भएको छ।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघसहित कोशी प्रदेश, सूदूरपश्चिम प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, ३ विभागीय क्लबहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्रको नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछ।

त्यसैगरी, महिलातर्फ ३ विभागीय क्लबहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्रको नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब काठमाण्डौ, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेश भलिबल टोलीको प्रतिस्पर्धा रहनेछ।

महिला तथा पुरुष दुवैतर्फको लिग विजेताले नगद ८ लाख रुपैयाँसहित शिल्ड पुरस्कार जित्नेछ।

यसैगरी, दुवैतर्फको लिग उपविजेताले नगद ४ लाख रुपैयाँसहित रनरअफ ट्रफी पुरस्कार जित्नेछ।

यस्तै, दुवैतर्फ तेस्रो हुने टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी पुरस्कार जित्नेछ।

महिला, पुरुष दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ।

भलिबल संघका अध्यक्ष चन्दले अहिलेसम्मकै ठूलो पुरस्कार राशिको भलिबल लिग पोखरामा हुन लागेको जानकारी दिए।

दुवैतर्फका उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर र स्पाइकरले जनही २५ हजार पुरस्कार पाउनेछन्।

तस्बीर: सुदर्श रञ्जित