
स्याङ्जाको गल्याङ नगरपालिकाले विपन्न परिवारका १८१ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ।
आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले १२ लाख १७ हजार ८ सय रुपैयाँ छात्रवृत्तिस्वरुप उपलब्ध गराएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिएका छन्।
नगरपालिकाका गल्याङ बहुमुखी क्याम्पस र मालुंगा बहुमुखी क्याम्पसमा अध्ययनरत् जेहेनदार, विपन्न तथा गरिब छात्रछात्रालाई मासिक शुल्कवापत एक वर्षको एकमुष्ट जनही १० हजार ८ सय रुपैया प्रदान गरिएको प्रमुख भट्टराईको भनाई छ।
यसैगरी, कक्षा ११ र १२ मा अध्ययनरत् अतिगरिब, विपन्न तथा जेहेनदार विद्यार्थीलाई जनही साढे ३ हजार रुपैयाँ उपलब्ध गराइएको छ।
यस वर्ष क्याम्पसमा अध्ययनरत् ८० जनालाई नि:शुल्क, अति विपन्न २ जना र कक्षा ११ र १२ मा अध्ययनरत् ९९ जनालाई छात्रवृत्ति प्रदान गरेको उपप्रमुख हेमा न्यौपानेले बताइन्।
अतिविपन्न, गरिब तथा जेहेनदार विद्यार्थीका लागि सम्बन्धित क्याम्पस तथा विद्यालयले छात्रवृत्तिका लागि आवेदन माग गर्ने र प्राप्त आवेदनलाई पालिकाको कार्यविधि बमोजिम सिफारिस गर्ने गर्दछ।
कार्यविधिमा पूर्णछात्रवृत्ति प्राप्त गरेको विद्यार्थी उत्तीर्ण भएमात्रै अघिल्लो कक्षामा अध्ययन गर्न पुन: छात्रवृत्ति पाउनेछन्।
र, अनुत्तीर्ण पुन:उक्त सुविधा पाउने/नपाउने उल्लेख छ।
शैक्षिक क्षेत्रको गुणस्तरीतामा वृद्धि हुनुका साथै शिक्षाको सहज पहुँचबाट कोही पनि वञ्चित हुन नदिने नगरपालिकाको अभियान रहेको प्रमुख भट्टराईको भनाई छ।