
घरेलु गण्डकी प्रदेशले नवौं संस्करणको प्रधानमन्त्री कप भलिबल लिगको पुरुषतर्फ विजयी सुरुवात गरेको छ।
पाकिस्तानी खेलाडी सहभागी गण्डकीले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशमाथि ३–१ को सेटले जीत निकाल्यो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको आफ्नो पहिलो खेलमा गण्डकीले कोशीलाई २५–१५, २५–२१, २५–२२ र २५–२० ले हरायो।
त्यसअघि, विहीबार नै भएको पुरुषतर्फको पहिलो खेलमा विभागीय एपीएफले सूदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो।
एकतर्फी जीत निकाल्ने क्रममा एपीएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो।
विहीबार नै पुरुषतर्फका ४ खेल हुने तालिका छ।
जसमा क्रमैसँग विभागीय एपीएफ र सुदूरपश्चिम प्रदेश पहिलो खेल भइसकेको छ।
त्यसैगरी, घरेलु गण्डकी र कोशी प्रदेश भलिबल टोलीबीच दोस्रो खेल भइसकेको छ।
त्यसपछि, तेस्रो खेलमा टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ।
यसैगरी, पुरुषतर्फ नै दिनको अन्तिम खेल विभागीय नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच हुनेछ।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछ।
सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
विधागत ‘उत्कृष्ट’ ले जनही २५ हजार रुपैयाँ पाउनेछन्।
लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।