
नेपाल पुलिस क्लबले नवौं संस्करणको पीएम कप एनभीए भलिबल लिगमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जीत हात पारेको छ।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको खेलमा ३ भारतीय खेलाडी सम्मिलित मणिमुकुन्द भलिबल क्लबलाई पुलिसले सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो।
पुलिसले मणिमुकुन्दमाथि २९–२७, २५–२० र २६–२४ को जीत आफ्नो पक्षमा पार्यो।
यसैगरी, पुरुषतर्फ टिप टप हेल्प नेपाल, गण्डकी प्रदेश र नेपाल एपीएफ क्लब विजयी भएका छन्।
नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछ।
सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
विधागत ‘उत्कृष्ट’ लिब्रो, लिफ्टर, सर्भर, ब्लकर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।