पीएम कप एनभीए भलिबल: पुरुषतर्फ मणि मुकुन्दको पहिलो जीत

मणिमुकुन्दले विभागीय एपीएफ क्लबमाथि ३–१ सेटमा जीत निकाल्यो

जनसम्मत
जेठ ९, २०८२, शुक्रबार

पुरुषतर्फ मणिमुकुन्द भलिबल क्लबले नवौं संस्करणको पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पहिलो जीत निकालेको छ।

पोखरा रंगशालाको कभर्ड हलमा शुक्रबार भएको अन्तिम खेलमा मणिमुकुन्दले विभागीय सशस्त्र प्रहरी बलको टोली नेपाल एपीएफ क्लबलाई ३–१ सेटमा हराएको हो।

प्रतिस्पर्धात्मक खेलमा मणि मुकुन्दले विभागीय एपीएफमाथि २८–२६, १६–२५, २५–२१ र २५–२० कठिन जीत निकाल्यो।

जारी लिगमा बिहीबार भएको आफ्नो पहिलो खेलमा मणिमुकुन्द विभागीय नेपाल पुलिस क्लबसँग ३–० को सेटमा स्तब्ध भएको थियो।

पहिलो खेलमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० सोझो सेटमा हराएको एपीएफको यो पहिलो हार हो।

सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

विधागत ‘उत्कृष्ट’ लिब्रो, लिफ्टर, सर्भर, ब्लकर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।