प्रेस काउन्सिलको ध्यानाकर्षण: ‘पत्रकारहरुले गैरपेसागत कार्यहरु नगरौं’

काउन्सिलले ६ युट्युब च्यानल, ५ फेसबुक पेज र ६ अनलाइन न्यूज पोर्टललाई निर्देशनसहित सचेत गराएको छ

जनसम्मत
जेठ ७, २०८२, बुधबार

प्रेस काउन्सिल नेपालले देशका केही जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत क्रियाकलाप भएको पाइएको जनाएको छ।

त्यस सम्बन्धमा काउन्सिलले गंभीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ।

काउन्सिलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायतका जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासा आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो।

‘मिडियाको आवरण दिई आफू पत्रकार भएको बताउँदै गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा गई विज्ञापनको नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाई गैरपेसागत क्रियाकलापमा संलग्न गराउने, प्रेस कार्डको दुरुपयोग गर्दै कतिपय जिल्लाका सीमाना गएर धाकधम्की दिने, असुली गर्ने, पत्रकार सम्मेलन गराइदिने भनी पीडितसँगबाट रकम असुली गर्ने, युट्युब च्यानलमार्फत राष्ट्रियता/राष्ट्रिय एकताविपरीत वैयक्तिक गोपनीयता प्रतिकूल, सामाजिक सद्भाव विगार्ने र पारिवारिक विखण्डन गराउने किसिमको सामग्री प्रसारण गर्ने गरेका गुनासाका सम्बन्धमा काउन्सिलको गंभीर ध्यानाकर्षण भएको छ’, काउन्सिलका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलले यस्ता कार्य पेसागत आचरण विपरीत एवं गैरकानुनी कार्य भएको हुँदा त्यस्ता कार्य नगर्न/नगराउन सम्बद्ध सबैलाई अनुरोधसमेत गरेको छ।

पत्रकारका विषयमा प्रश्न उठेपछि काउन्सिलले नेपाल पत्रकार महासंघ सिरहा जिल्ला शाखालाई ७ दिनभित्र उजुरीसहितको विवरण उपलब्ध गराउन पत्राचारसमेत गरेकोे छ।

कार्यविधि नै बनाई युट्युब र फेसबुक च्यानलको समेत अनुगमन गरिरहेको प्रेस काउन्सिल नेपालले चालु आर्थिक वर्षमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ६ वटा युट्युब च्यानल, ५ वटा फेसबुक पेज तथा ६ वटा अनलाइनलाई निर्देशनसहित सचेत गराएको छ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिएर जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अटेर गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता/सूचीकरण नभएका ६५ युट्युब च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ।

आचारसंहिताबमोजिम दिएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन संचार माध्यमलाई कालोसूची/अवज्ञाकारीको सूचीमा राखिएको काउन्सिलले जनाएको छ।

३ वटा अनलाइन संचार माध्यमलाई सूचीकरणबाट समेत हटाई थप कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धतासहित निवेदन दिने ५ वटालाई कालोसूची फुकुवासमेत गरिएको सूचना अधिकारी बोहराले जानकारी दिएका छन्।

हेरौं, प्रेस विज्ञप्ति