
प्रेस काउन्सिल नेपालले विभिन्न ५ मातृभाषामा अनुवाद गरी पत्रकार आचारसंहिता सार्वजनिक गरेको छ।
योसहित नेपाली मिडियामा विभिन्न ८ मातृभाषाका आचारसंहिता प्रयोगमा छन्।
शुक्रबार काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर र राष्ट्रिय समाचार समातिका अध्यक्ष धर्मेन्द्र झाले भोजपुरी, राई वान्तावा, तामाङ, डोट्याली, लिम्बु भाषामा अनुवादित पत्रकार आचारसंहिता सार्वजनिक गरे।
यसअघि, काउन्सिलले थारु, मैथिली र नेपाल भाषामा अनुवादित आचारसंहिता सार्वजनिक गरिसकेको छ।
कार्यक्रममा बोल्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले स्थानीयपन नहुने र मौलिकता छोडियो भने मातृभाषा नरहने बताए।
प्रेस काउन्सिल नेपालले आयोजना गरेको विभिन्न ५ भाषामा अनुवादित पत्रकार आचारसंहिता र संहिता भाषागत पत्रकारिता विशेषाङ्क सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भने, ‘पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षण गर्न जरुरी छ।’
डा. ठाकुरले लेख्यरुप नभएका भाषाको प्रवर्द्धनका लागि प्रेस काउन्सिल नेपाल र भाषा आयोगबीच सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।
काउन्सिलले मातृभाषामा पत्रकार आचारसंहितालाई अनुवाद गर्ने कार्य साहसिक कार्य भएको उनको भनाई थियो।
‘भाषा एकबाट अर्कोमा अनुवाद गर्नु आफैँमा नयाँ सिर्जना हो। यो एक एड्भेन्चर हो’, उनले उल्लेख गरे।
काउन्सिलले नेपाली भाषाामा रहेको पत्रकार आचारसंहितालाई नेपालभाषा, थारु, मैथिली, राई वान्तावा, वाम्बुले राई, भोजपुरी, तामाङ र डोट्याली भाषामा समेत अनुवाद गरेको छ।
तीमध्ये, ५ भाषामा अनुवादित आचारसंहिता शुक्रबार सार्वजनिक गरिएको हो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले देशका विभिन्न भूभागमा बोलिने मातृभाषाको प्रवर्द्धनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहने उल्लेख गरे।
उनले औल्याए, ‘संचारको सबैभन्दा नजिकको र बुझिने भाषा नै मातृभाषा भएकाले यसको प्रवर्द्धनका निम्ति काउन्सिलले काम गरेको छ। मातृभाषाका संचार माध्यम नेपाली पत्रकारिताका सुन्दरता र राज्यको वैभव हुन्। त्यसैले यसलाई प्रवर्द्धन गर्न काउन्सिलले विभिन्न रचनात्मक काम गर्दै आएको छ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले देशका धेरै भूभागमा अझैपनि नेपाली भाषा बुझ्ने समुदाय नभएकाले मातृभाषामा पत्रकारिता गर्नु जरुरी भएको उल्लेख गरे।
‘आम जनता सुसूचित गर्न मातृभाषा पत्रकारिताको अर्को विकल्प छैन। मातृभाषा र स्थानीयपनलाई वेवास्ता गरिए देशको लोकतन्त्र नै बाँच्दैन’, झाले अर्थ्याए।
यस्तै, सार्वजनिक सेवा प्रसारण संचालक समिति सदस्य फुलमान बलले मातृभाषा सबल बनाउन तत् भाषामा पत्रकारिता गर्नु जरुरी रहेको बताए।
पत्रकारिताको माध्यमबाट मातृभाषाको विस्तारका लागि अहिले संचारको शैली फेरिनुपर्ने कुरामा उनले जोड दिए।
बलले भने, ‘पत्रपत्रिका रेडियो र टेलिभिजन मात्र नभई न्यू मिडियाको माध्यमबाट मातृभाषामा पत्रकार आचारसंहिताको प्रचार–प्रसार गरिनुपर्छ। मातृभाषामा भइरहेको पत्रकारिता न्यू मिडियामा रुपान्तरण हुनैपर्छ। यसले मातृभाषा बचाउँछ।’
गोरखापत्रका महाप्रबन्धक लाल ऐरीले गोरखापत्रले लामो समयदेखि मातृभाषाको प्रवर्द्धन हुनेगरी प्रकाशन गरिरहेको उल्लेख गरे।
‘काउन्सिलले मातृभाषा पत्रकारिताको प्रवर्द्धनका लागि गरेको प्रयास सर्हानीय छ’, ऐरीको भनाई थियो।
कार्यक्रममा लेखक एवं पत्रकार डा. कृष्णराज सर्वहारी, नृपेन्द्रलाल श्रेष्ठ, पुष्कर माथेमा, पदम राई, अमर तुम्वाहाङ, विष्णुमाया सिङगक, गणेश राई, अर्जुन तामाङ, बुनु थारु, मनोज वर्मा, वीणा सिन्हा, धनबहादुर मगरलगायतले भाषागत पत्रकारिताको अवस्था र अनुभव सुनाएका थिए।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले कार्यक्रमको सहजीकरण गरेका थिए।